नारायणगढ-बुटवल खण्डको तेस्रोपटक म्याद थपियो, हटेन यात्रुको सास्ती [तस्बिरसहित]

श्रावण १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नारायणगढ-बुटवल खण्डको तेस्रोपटक म्याद थपियो, हटेन यात्रुको सास्ती [तस्बिरसहित]

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको तेस्रोपटक म्याद थप भएको छ । सडक विस्तारमा ढिलाइले यातायात अस्तव्यस्त भइरहँदा २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो ।

नारायणगढ-बुटवल सडक विस्तारको काम थालेको ६ वर्ष बितिसक्दा पनि बल्ल आधा काम सकिएको छ । निर्माण सुस्त हुँदा हालसम्म सडकको भौतिक प्रगति ५३ प्रतिशत पुगेको छ । ११३ किलोमिटर सडक विस्तारका लागि २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । २०७९ साउन २२ गते काम सक्नुपर्ने भए पनि निर्माणले गति नलिँदा २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । तर यसपालि पनि काम सकिएन ।

सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । हालसम्म सडक २६.५ किलोमिटर कालोपत्र भएको छ । सडक विस्तार ढिलाइ हुँदा दैनिक यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । नारायणगढबाट बुटवल पुग्न दोब्बरभन्दा धेरै समय लाग्ने गरेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडकको दुई खण्डका लागि १६ अर्ब ९९ करोड ५२ लाख रकममा ठेक्का लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.