काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले आफ्ना माग नसमेटेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । मौद्रिक नीति सेयर बजारमा मात्रै केन्द्रित भएको, तर लाखौंलाई रोजगारी दिएको पर्यटन क्षेत्रलाई उपेक्षा गरेको उनीहरुको गुनासो छ ।
प्रत्यक्ष र अप्रत्यक्ष गरी ११ लाखलाई रोजगारी दिएको र वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत भए पनि मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई उपेक्षा गरेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । अर्बौं लगानी भएका पाँच तारे होटेलदेखि निम्न आय हुने भरिया समेतलाई लाभ दिने क्षेत्रलाई वित्त नीति अर्थात् बजेट र मौद्रिक नीति दुवैले सम्बोधन गर्न नसकेको उनीहरुको गुनासो छ ।
सरकारले अन्तर्राष्ट्रियस्तरमा पर्याप्त प्रचारप्रसार र पर्यटकीय स्थलसम्म पुग्ने पूर्वाधार विकासमा ध्यान नदिँदा एक त पर्यटक आगमनमा कमी आएको छ भने अर्कोतिर पर्यटकको बसाई अवधि झन् छोटि्टै जाँदा होटेलले बैंकको किस्तासमेत तिर्न सकेका छैनन् ।
पर्यटन क्षेत्रले कर्जाको पुनर्तालिकीकरण गर्न पाउनु पर्ने र ऊर्जा, कृषिसरह सहुलियतमा कर्जा पाउनु पर्ने पर्यटन क्षेत्रको माग थियो । तर मौद्रिक नीतिले उनीहरुका कुनै पनि माग सम्बोधन गरेन ।
पर्यटन क्षेत्रमा अहिलेसम्म २० खर्बभन्दा लगानी भएको व्यवसायीको अनुमान छ । देशभर पाँच तारे होटेलकै संख्या २४ पुगिसकेको छ भने होटेलको क्षमता वार्षिक ३५ लाख पर्यटकलाई धान्ने छ । तर, सरकारले सन् २०२४ मा १६ लाख पर्यटक आउने लक्ष्य लिइरहेको छ ।
त्यसमा पनि पहिलो ६ महिनामा साढे पाँच लाखमात्रै विदेशी पर्यटक आएका छन् । सरकारले बजारको माग अनुसार पर्यटक भित्र्याउन नसक्ने र यस क्षेत्रलाई प्रोत्साहनको वातावरण सिर्जना नगर्ने हो भने खर्बौ लगानी भएको पर्यटन क्षेत्र कसरी दिगो होला र ?