नागरिक उड्डयन प्राधिकरणलाई छुट्टाउनुपर्ने बहस, कति सहज ?

श्रावण १२, २०८१ |सुमन पन्थ
नागरिक उड्डयन प्राधिकरणलाई छुट्टाउनुपर्ने बहस, कति सहज ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर सेवा प्रदायक र नियामक निकाय बनाउनुपर्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । अझ गत बुधबार १८ जनाको ज्यान जाने गरी सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि यसबारे झन् चासो बढेको छ । तर विज्ञहरुले भने अर्को संयन्त्र बनाउँदैमा दुर्घटना रोकिने ग्यारेन्टी नभएकाले सुझबुझपूर्ण निर्णय गर्न सुझाएका छन् ।

युरोपेली युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीहरुलाई ग्रे लिस्ट अर्थात् सुरक्षासूचीमा राखेको एक दशक भइसकेको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड पालना भइरहेको भन्दै सरकारले पटक-पटक आग्रह गर्दा पनि ईयूले सूचीबाट हटाउन मानेको थिएन । झन् बुधबारको दुर्घटनाले सूचीबाट हट्ने सम्भावनालाई झन् टाढा बनाइदिएको छ । बर्सेनिजसो दुर्घटना हुन थालेपछि सांसदहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर सेवाप्रदायक र नियामक बनाउन सुझाव दिँदै आएका छन् ।

प्राधिकरणलाई टुक्र्याएर नियामक र सेवा प्रदायक बनाउने विधेयक हराएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको चर्को विरोध गरेका छन् । अर्को सातासम्म विधेयकका विषयमा जानकारी गराउन संघीय संसद्‌ले निर्देशन नै दिएको छ ।

दुर्घटनाका बेला हवाई सुरक्षासम्बन्धी नियामक संरचना बनाउनुपर्ने आवाज उठ्ने गरे पनि विज्ञहरुले त्यो नै समाधान नभएको बताएका छन् । बरु नागरिक उड्डयन प्राधिकरणलाई नै जनशक्ति र प्रविधिका हिसाबले सुदृढ बनाउनुपर्ने उनीहरुको भनाइ छ । त्रिभुवन विमानस्थलबाट हुने आम्दानीले अर्को प्राधिकरण धान्न नसक्ने नेपाल नागरिक उड्यन प्राधिकरणका पूर्वसचिव यज्ञ गौतमको भनाइ छ ।

बारम्बार भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो र चिन्ता व्यक्त गरिएका छन् । तसर्थ सरकारले बलियो संरचना बनाएर घरेलु तथा बाह्य क्षेत्रलाई विश्वासमा लिनुपर्ने आवश्यकता छ ।

हेर्नुहोस् सुमन पन्थका थप स्टोरी ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।