कोइलाबास भन्सारमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन

श्रावण १, २०८१ |अमर क्षितिज भण्डारी
कोइलाबास भन्सारमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन

दाङ । दाङको एकमात्र भन्सार, कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख दीपक शर्माले जानकारी दिनुभयो ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि एक करोड एक लाख ३८ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो ।

भारतबाट प्युठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीहरुको सवारीसाधनबाट बढी राजस्व संकलन हुने गरेको कोइलाबास भन्सार कार्यालयले जनाएको छ । अन्य सामान आयात कमै मात्र हुने गरेको कोइलाबास नाका हुँदै पछिल्नो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ ।

यसरी आउने भारतीय पर्यटकबाट कोइलाबास भन्सार कार्यालयले दुइपांग्रे सवारीसाधनको एक दिनको दुई सय रुपैयाँ र चारपांग्रेबाट एक दिनको ६ सय रुपैयाँ राजस्व लिने गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख ६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement