सरकारले ११ करोड ९० लाखमा बनायो हेलिप्याड, चालक भन्छन्- ‘ज्यानै जोखिममा राखेर उडाउन सकिँदैन’

असार २७, २०८१ |भरत रावल
सरकारले ११ करोड ९० लाखमा बनायो हेलिप्याड, चालक भन्छन्- ‘ज्यानै जोखिममा राखेर उडाउन सकिँदैन’

काठमाडौं । भक्तपुरको नलिनचोकमा करिब १२ करोड रुपैयाँ खर्च गरेर सरकारले निर्माण गरेको हेलिप्याडबाट हेलिकोप्टर उडाउन चालकले अस्वीकार गरेका छन् । उडान सुरक्षाका दृष्टिले यो हेलिप्याड असुरक्षित रहेको भन्दै चालकहरूले हेलिकोप्टर उडान नमानेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने चालकले भने जस्तो जोखिम नभएको दाबी गरेको छ ।

असार ७ गते १२ वटा हेलिकोप्टर कम्पनीले आफ्नो उडान सुरु गरेपछि भक्तपुरको नलिनचोकमा रहेको हेलिप्याड औपचारिक रूपमा सञ्चालनमा आएको थियो तर उद्घाटन भएको २० दिनमै चालकले ज्यानै जोखिममा राखेर हेलिकोप्टर उडाउन नसकिने भन्दै बन्द गरेका हुन् ।

३३ रोपनीमा फैलिएको यो हेलिप्याड बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ करोड ९० लाख खर्च गरेको छ । हेलिप्याड औपचारिक रूपमा सञ्चालनमा ल्याइए पनि यात्रु जाँच, फ्युल स्टेसन र टावरको काम सक्न अझै बाँकी छ । असार १६ गते ३७ जना चालकले बाँकी काम सक्न र हेलिप्याड आसपासका बिजुलीका तार र टेलिफोनको टावर हटाउन लिखित रूपमै प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

लगत्तै प्राधिकरणले बिजुलीका तार हटाउन ४० लाख रुपैयाँ छुट्याइसकेको र टेलिफोनको टावर हटाउन छलफल गरिरहेको जनाएको छ तर चालकहरू ज्यानै जोखिममा राखेर उडान गर्न नसक्ने अडानमा छन् । नाम खुलाउन नचाहने एक चालकले प्राधिकरणको कारबाही भोग्न तयार रहेको तर सबै पूर्वाधार निर्माण नसकी उडान गर्न नसक्ने बताए तर प्राधिकरणले भने हेलिप्याड सुरु हुनुअघि प्राविधिक जाँच गरेर उडान अवतरण गर्न सकिने भएपछि मात्रै उद्घाटन गरिएको जनाएको छ । चालकले भनेजस्तो जोखिम नभएको दाबी प्राधिकरणको छ ।

त्यसो त चालकले लिखित रूपमा दिएका ७ बुँदे माग अध्ययन गर्न प्राधिकरणले बुधबार नै १५ सदस्यीय कमिटी गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरको चाप बढ्दै गएपछि प्राधिकरणले नलिनचोकमा छुट्टै हेलिप्याड बनाएको हो । तर विमानस्थलबाट ५८ वर्षपछि भक्तपुरमा सारिएको हेलिप्याड नियमित सञ्चालनमै अवरोध सिर्जना हुँदा कतै यो अलपत्र पर्ने त होइन भन्ने प्रश्न उठेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement