चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिएको छ । गत वर्षको साउनमा १ खर्ब १६ अर्ब आएकोमा यो वर्ष थप २० अर्ब रेमिट्यान्स आएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ भएको जनाएको छ । जुन गत आर्थिक वर्षमा ३९ हजार १ सय ५२ थियो । अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा घटे पनि पुनः स्वीकृति लिने भने बढेका छन् । गत वर्ष साउन १६ हजारले पुनः श्रम स्वीकृति लिएकामा यो वर्षमा २२ हजारले लिएका छन् । 

 भ्रमण व्यय ३० दशमवल ४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १४ अर्ब ९२ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७ अर्ब २६ करोड थियो भने शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड थियो ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउनमा २ दशमलव ५ प्रतिशतले वृद्धि भई २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव ५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।

२०८१ साउन मसान्तमा सरकारका विभिन्न खातामा १ खर्ब ९७ अर्ब ८२ करोड नगद मौज्दात छ । जुन २०८१ असार मसान्तमा यस्तो मौज्दात ९९ अर्ब २७ करोड थियो । साउनमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ अर्ब ३५ करोडले घटेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप भने ४३ अर्ब ४५ करोडले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ सय ३३ अर्ब २४ करोडले घटेको थियो । २०८१ साउनमा महँगी ४ दशमलव १-० प्रतिशतलेले बढेको छ । गत वर्ष भने साउनमा महँगी ७ दशमलव ५-२ प्रतिशतले बढेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement