काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेन्ड डरलाग्दो अवस्थामा रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उहाँले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति पनि बढ्दै गएको धारणा राख्नुभएको हो । नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको अवस्था र त्यसको असर विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताउनुभयो । उहाँले पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको बताउनुभयो ।
‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले दुई खर्ब ३३ अर्ब पुगेको छ । लोन लस प्रोभिजनको शीर्षकमा रकम बढ्दै गएको । २०७६ मा गैरबैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकामा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,’ उहाँले भन्नुभयो, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ ।’
यस्तै, उहाँले पाँच वर्षको अवधिमा बैंकहरूको नाफा पनि १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गर्नुभयो । बजारमा बैंकहरूले अर्बौं कमाए भनेर हल्ला भए पनि त्यो भ्रम मात्रै रहेको उहाँको धारणा छ । २०८० को वित्तीय प्रतिवेदनअनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताउँदै चार वटाको २ प्रतिशतभन्दा कम र तीनवटा बैंकको ४ देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको उहाँले बताउनुभयो ।
बैंकको बिजनेस पनि एउटा चक्र भएकाले अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण बैंकिङ क्षेत्रमा दबाब सिर्जना भएको उहाँले धारणा राख्नुभयो । ‘कमजोर नियमनले पनि बैंकको सम्पत्तिको गुणस्तर खस्कियो, बैंकबाट लिएको कर्जालाई अनुत्पादक क्षेत्रमा लगानी गर्न प्रशय मिल्यो, त्यसले सम्पत्तिको गुणस्तर खस्केर जोखिम सिर्जना भएको हो,’ उहाँले भन्नुभयो । उहाँले अब राष्ट्र बैंकले चालु पुँजी कर्जाको मार्गदर्शनमा केही पुनरावलोकनको विषयमा सोच्नुपर्ने बताउनुभयो ।
यस्तै उहाँले बैंकको पुँजी कोष पनि ठूलो दबाब रहेको सुनाउनुभयो । उहाँले पुँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको बताउनुभयो ।
‘जोखिमपूर्ण सम्पत्तिको ट्रेन्ड डरलाग्दो छ । तर, आत्तिनु हुँदैन । अहिले पुँजी कोष कायम गर्न नसक्ने दुई बैंक छन्, १८ वटा बैंकको कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि करिब ६ खर्ब रुपैयाँ छ, अहिले बैंकहरुको ६ खर्ब ९२ अर्बको पुँजी कोष छ, त्यसमा ८३ अर्ब घटेमा बैंकको पुँजी कोष १०.९९ कायम हुन जान्छ, यसले बैंकलाई थप सकस सिर्जना गर्न सक्छ,’ उहाँले भन्नुभयो ।