कोलाकाता बन्दरगाहमार्फत हुने नेपालको वैदेशिक व्यापार सुधारियो

जेष्ठ २२, २०८१ |राजेश मिश्र
कोलाकाता बन्दरगाहमार्फत हुने नेपालको वैदेशिक व्यापार सुधारियो

कोलकाता । कोराना महामारीका कारण थलिएको वैदेशिक व्यापारमा क्रमशः सुधारको संकेत देखिएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै नेपालका लागि तेस्रो मुलुकबाट हुने आयातसँगै निर्यातमा पनि बढोत्तरी हुन थालेको हो ।

कोलकाता बन्दरगाह कार्यालयले पनि विगतको तुलनामा आफ्नो काममा सुधार ल्याएको छ । तर नेपाललाई भारतले प्रयोग गर्न दिएका रुट भने पुराना भएकाले नयाँ बाटोको खोजी गर्नुपर्ने देखिएको छ ।

नेपालका लागि तेस्रो मुलुकबाट आयात हुने सामानको दुईतिहाइ हिस्सा कोलकातास्थित श्यामाप्रसाद मुखर्जी बन्दरगाहबाट हुने गरेको छ । भारतीय आर्थिक वर्ष २०२३/०२४ अर्थात् २०२३ को अप्रिलदेखि २०२४ को मार्चसम्ममा नेपालका लागि तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह भएर ४९ हजार ५५१ कन्टेनर सामान आएको छ ।

अघिल्लो आर्थिक वर्षमा ५० हजार ८८१ कन्टेनर सामान यो बन्दरगाहाबाट भित्रिएको थियो । वीरगन्जबाट सबैभन्दा नजिकको समुद्री पहुँच कोलकाता नै हो । कोलकातामा नेपाल सरकारलाई तेस्रो मुलुकसँग हुने आयात र निर्यातमा सहजीकरण लागि महावाणिज्य दूतावास खोलेको छ । दिल्लीस्थित नेपाली दूतावासपछि भारतभरिमा कोलकातामा मात्रै नेपालको सरकारी प्रतिनिधित्व रहने कार्यालय छ ।

महावाणिज्य दूतावासले कोलकाता र हल्दिया बन्दरगाहबाट हुने आयात/निर्यात व्यापार र पारवहनलाई सहज बनाउने काम गर्दै आएको महावाणिज्यदूत ईश्वरराज पौडेल बताउनुहुन्छ ।

नेपालले कोलकाता बन्दरगाह हुँदै गएको मार्चसम्म एक वर्षको अवधिमा एक हजार ४५१ कन्टेनर सामान निर्यात गरेको छ । कोलकाता हुँदै सबैभन्दा बढी चीनबाट सामान आउने गरेको छ । कोलकाता आइपुगेका सामानलाई छिटो र झन्झटरहित तरिकाले नेपालको भन्सारविन्दुसम्म पठाउन महावाणिज्यदूतावासले गर्दै आएको प्रयासले पछिल्लो समय समस्याहरु कम हुँदै गएको नेपाल कार्गो ह्यान्डलिङ एसोसिएसनका संयुक्त सचिव राजेश शारडा बताउनुहुन्छ ।

नेपाल-भारतबीचको पारवहन सन्धिले कोलकाताबाट नेपालको सीमासम्म तेस्रो मुलुकबाट आएको सामान लग्न १५ वटा सडक रूट दिएको छ । ती रूटहरुमा सुखिया पोखरी, पानीट्यांकी, गलगलिया, जोगबनी, भीमनगर, जयनगर, भिट्ठामोड, रक्सोल, सुनौली, बड्नी, जरवा, नेपालगन्ज, टिकुनिया, गौरिफान्टा र वनबासा भन्सार हुन् । तर वीरगन्ज, जोगबनी, काँकडभिट्टा, सुनौली, नेपालगन्ज, गौरिफन्टाबाहेकका रूट खासै प्रयोगमा छैनन् ।

नेपालका लागि सर्वाधिक आयात वीरगन्जबाट हुन्छ । कोलकाताबाट वीरगन्ज वा अन्य प्रमुख भन्सारसम्म जाने सडक रूट धेरै वर्ष पहिला निर्धारण गरिएका छन् । भारतमा पछिल्लो समय द्रुत गतिका फराकिला राजमार्गको विस्तार भएको छ । कोलकातामा आइपुगेको कन्टेनरलाई सुविधासहित छिटो नेपाल पुर्‍याउन नयाँ स्थल रूटको अध्ययन आवश्यक देखिएको छ ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement