काठमाडौं महानगरको सीप मेला, सकियो पहिलो चरणको तालिम

जेष्ठ ४, २०८१ |श्रृजना बास्तोला
काठमाडौं महानगरको सीप मेला, सकियो पहिलो चरणको तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिको तालिमको पहिलो चरण आज सकिएको छ । दोस्रो चरणको तालिम जेठ ६ गते आइतबारदेखि सुरु हुनेछ । पहिलो चरणमा एक हजार पाँच सय पाँच जनाले तालिम लिए भने दोस्रो चरणमा एक हजार एक सय ३५ जना सहभागी हुनेछन् ।

‘रोजगार र आयवृद्धि, काठमाडौंको समृद्धि’ अभियानअन्तर्गत काठमाडौं महानगरपालिकामा यतिबेला रोजगारीका लागि सिपमूलक तालिम सञ्चालन भइरहेको छ । महानगरले यो अभियानलाई गौरवका आयोजनाको रुपमा समावेश गर्दै एक वर्षमा १५ हजारलाई तालिम दिएर कम्तिमा पाँच हजारलाई रोजगारी दिने लक्ष्य राखेको छ । यो एकमहिने तालिममा दुई हजार ६४० जनाले सीपमूलक तालिम लिनेछन् ।

जसमध्ये दुई हजार ८१ जनालाई रोजगारी दिलाउने महानगरले जनाएको छ । अन्यलाई पनि तालिमले स्वरोजगार बन्न प्रेरित गर्ने विश्वास लिएको महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताउनुभयो ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले साइबर सुरक्षामा चार हजार जनाका लागि तालिम सञ्चालन गरेको थियो । तर सोचेअनुरुप उक्त कार्यक्रम सफल भएन । यतिबेला टुँडिखेलमा सञ्चालन भइरहेको तालिममा १० क्षेत्रका ३० वटा पेसासम्बन्धी सीप सिकाइँदै छ । जसमा क्यामरा, मोबाइल मर्मत, वेल्डिङ, टेलरिङ/फेसन डिजाइनिङ, नेल आर्ट, मेक अप, हेयर कट एन्ड स्टाइल, सैलुन, ज्योतिष र पुरोहितलगायत छन् । तालिमले स्वरोजगारको आत्मविश्वास बढाएको सहभागीहरुको अनुभव छ ।

निःशुल्क सीपमूलक तालिम लिन ६८ हजार ८६६ जनाको आवेदन परेको महानगरको दाबी छ । काठमाडौं महानगरले ‘रोजगार र आयवृद्धि, काठमाडौंको समृद्धि’ गौरवको आयोजनाका लागि चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ । अहिलेसम्म त्यसमध्येको ३० प्रतिशत बजेट मात्र खर्च भएको छ । पाँच हजारलाई रोजगारी दिने महानगरको प्रतिबद्धता पूरा हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी छ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।