ओखर खेतिमा रमाउँदै जुम्लाका किसान

जेष्ठ ३, २०८१ |डीबी बुढा
ओखर खेतिमा रमाउँदै जुम्लाका किसान

जुम्ला । जुम्लाका किसानहरु दाँते ओखरको व्यवसायिक खेति गर्न हौसिएका छन् । उनीहरुले ओखरका दाना र बिरुवा दुबै बेच्न थालेका हुन् । बर्सेनि ओखर खेतिबाट राम्रो आम्दानी भएपछि किसानहरुमा ओखर खेति आकर्षण बढेको हो ।

जुम्ला पातारासी ७ घोडासैनका सिंह कठायतले १२ हजारभन्दा बढी दाँते ओखरका बिरुवा यसै बर्ष बेच्नुभयो । प्रति बिरुवा ४ सय रुपैयाँका दरले बेच्दा यस पटक झन्डै ४८ लाख रुपैयाँ आम्दानी भएको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा ९० वटा ओखर नर्सरी सूचिकृत छन् । जसमध्ये ६५ जना किसानले ६० हजारभन्दा बढी ओखरका विरुवा बिक्री गरेका छन् । ओखरका बिरुवा बेचेर मात्र जुम्लाका किसानले यस वर्ष २ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

जुम्लामा उत्पादित ओखरका बिरुवा कृषि प्राविधिकहरुको नियमित निगरानीमा हुर्किरहेकोले गुणस्तरीय बिरुवा भएको भन्दै माग पनि बढी छ । एक जना किसानले न्यूनतम २ सयदेखि १२ हजारभन्दा बढी ओखरका बिरुवाहरु बेचेको तथ्यांकले देखाउँछ । जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिकाका ६० वटै वडामा ओखर खेति भइरहेको छ। 

यो आर्थिक बर्षमा ताप्लेजुङ, संखुवासभा, रामेछाप, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, बझाङ, बाजुरा, हुम्ला, कालिकोट, दैलेख लगायतका जिल्लाहरुमा जुम्लाबाट ओखरको बिरुवा पुगेको हो । सरकारी दररेट अनुसार प्रति बिरुवा ओखर बोटको ७ सय रुपैयाँ तोकिएको छ । सबैभन्दा बढी पातारासी गाउँ पालिकाबाट झन्डै ३० हजार ओखरको बिरुवा जिल्लाबाहिर निर्यात भएको छ । माग राम्रो भएका कारण पुस महिनादेखि फागुनको पहिलो सातासम्म जुम्लाका किसानहरुले ओखरको बिरुवाको राम्रो व्यापार गरेका हुन्।  


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।