पुँजीगत खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउँछौं : अर्थमन्त्री पुन

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
पुँजीगत खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउँछौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान गराउन पुँजीगत खर्च बढाउन सरकारको मुख्य ध्यान रहेको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘अर्थतन्त्र र समृद्धि : लगानी सम्मेलन २०८१’ मा मन्त्री पुनले विकास खर्च गरेर निम्न आय भएकाहरुसम्म पैसा पुर्‍याउने र त्यसले अर्थतन्त्र चलायमान हुने तर्क गरे । सरकारले विकास निर्माणका कामको भुक्तानीमा तीव्रता दिए त्यसले निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगसँगै निर्माणका काममा संलग्न हुने कामदारसम्म रकम जाने उनको भनाइ छ ।

साथै पछिल्लो समय लगानीकर्ताको मनोबल बढाउन उनीहरुका माग निरन्तर सुनेको र लगानी बढाउने प्रयास गरिरहेको पुनले बताए । वैशाख १६ र १७ मा लगानी सम्मेलनको तयारी गरिरहकाले त्यसअगावै लगानीको वातावरण तयार गर्ने र एक दर्जन कानुनसमेत संशोधन गर्न लागेको उनले जानकारी दिए ।

लगानी सम्मेलनलक्षित गरेर कन्ट्री क्रेडिट रेटिङको काम अघि बढाए पनि त्यो समयमा सकिनेमा भने मन्त्री पुन निश्चिन्त देखिएका छैनन् । अर्थमन्त्री फेरिए पनि लगानी सम्मेलनको प्राथमिकता नफेरिएको र तोकिएकै समयमा लगानी सम्मेलन सफल पार्न सरकारले काम अघि बढाएको उनको भनाइ छ ।

विश्व बैंक, एसियाली विकास बैंकजस्ता दातृ निकायका उच्च तहका व्यक्तिहरु कार्यक्रममा सहभागी हुने निश्चित भएको समेत उनले जानकारी दिएका छन् । साथै शिथिल अर्थतन्त्रमा विस्तारै सुधार आएको दाबीसमेत उनले गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.