प्युठान । प्युठानको आहालखोला आलु उत्पादनका लागि प्रसिद्ध छ । झन्डै तीन सय घरधुरी रहेको आहालखोलामा सबैभन्दा कम खेती गर्ने किसानले पनि सिजनमा तिन क्विन्टल आलु फलाउँछन् । आहालखोलाको आलुले मात्रै पनि प्युठानको माग धान्न सक्छ । तर बजारीकरणमा समस्या हुँदा आहालखोलाका किसानले आलुको बजार पाएका छैनन् भने जिल्लामा बाहिरबाट ठूलो मात्रामा आलु भित्रिने गरेको छ ।
झिमरुक गाउँपालिका-३ आहालखोलाका दण्डबहादुर खत्री ८५ वर्ष पुगे । तर उनको जाँगर युवाको भन्दा कम छैन । घर नजिकैको खेतमा आलु लगाएका दण्डबहादुरले यो सिजनमा झन्डै डेढ सय मुरी आलु फलाए । जिल्लामै धेरै आलु फलाउने दण्डबहादुर आलु बाजेका नामले चर्चित छन् । सिजनमा आलु बिक्रीबाटै दण्डबहादुरले चार लाख रुपैयाँ बढी आम्दानी गर्छन् ।
आहालखोलाका झन्डै ३ सय घरधुरीले सिजनमा १५ मेट्रिक टन आलु फलाउँछन् । आलु राम्रो फलेपनि उत्पादन बिक्री गर्न उनीहरूलाई समस्या छ । घरघर डुलाएर सस्तोमा आलु बेच्नुपर्छ । नत्र कुहिएर खेर जाने डर हुन्छ ।
प्युठानमा वार्षिक १८ हजार ७ सय ४२ मेट्रिक टन आलु उत्पादन हुने गरेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको तथ्यांकमा छ । जिल्लाभर १ हजार १ सय ९० हेक्टरमा आलु खेती हुन्छ । आलु बिक्रीमा किसानले समस्या झेलिरहँदा जिल्लामा भने बाहिरबाट ठूलो परिमाणमा आलु भित्रने गरेको छ ।
यो वर्ष प्युठानमा तीन जातका नयाँ आलुको परीक्षण खेती भयो । उज्ज्वल खुमल, खुमल विकास र खुमल उपहार जातको आलु परीक्षण गरिएकोमा उज्ज्वल खुमल प्रतिहेक्टर ७.५२ मेट्रिक टन र खुमल विकास ४.८४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको छ । जिल्लामा आहालखोलासागै झिमरुक फाँटमा समेत आलु उत्पादन हुँदै आएको छ । उत्तरी भेग रजवारा, अर्खा, स्याउलीवाङमा बर्खे आलु लगाउने गरिएको छ ।