सेनाको गोली लागेर जंगली हात्तीको मृत्यु

माघ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सेनाको गोली लागेर जंगली हात्तीको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर जंगली हात्ती मकुना मरेको छ ।

बुधबार हाती ‘स्वीप’ गस्ती टोलीले स्वीपिङ गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनभित्रको लामिताल इलाकामा मकुनासँग अकस्मात भेट भएको थियो । सो क्रममा मकुनाले घरपालुवा हात्ती चुरेगजलाई सीधै आक्रमण गर्न आएपछि सेनाले दुई राउन्ड ‘वार्निङ’ हवाई फायर गरेको थियो । त्यसपछि पनि मकुना नभागेर पुनः आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेन्जर श्याम तामाङ खसेपछि ज्यान जोगाउन सेनाले थप तीन राउन्ड गोली चलाएको थियो ।

केही पर भागेर पुन: आक्रमण गर्न आउँदा सेनाले अर्को एक राउन्ड गोली प्रहार गरेपछि भागेको मकुना एक किलोमिटर पर ढलेको अवस्थामा फेला परेको थियो । गस्ती टोली तत्काल उठाउन खोज्दा नउठेपछि पशु चिकित्सक सहितको प्राविधिक टोलीले दिउँसो ३:३० बजे हात्तीलाई मृत घोषणा गरेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोस्टमोर्टम रिपोर्टमा हात्तीको दाहिनेतर्फको घाँटीमा एक राउन्ड गोली लागेको उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement