काठमाडौं । मर्स्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले साढे १० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ । कुमारी बैंकको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।
कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंक लिमिटेडको संयुक्त लगानीमा हुनेगरी एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा ऋण सम्झौता भएको हो ।
हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने जनाइएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ ।
प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब, सिद्धार्थ बैंकले २ अर्ब र कृषि विकास बैंकले डेढ अर्ब लगानी गर्नेछन् ।
स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको रहनेछन् । डोल्मा इम्पाक्ट फन्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक Due Diligence Study अगाडी बढाएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मे वा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
२०८६ वैशाखमा निर्माण सम्पन्न गर्नेगरी मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग २०८० कार्तिकमा भएको विद्युत खरिद-विक्री सम्झौता गरिसकेको छ ।