नेपालका चिनी मिलले क्षमता अनुसार उखु क्रसिङ गर्न पाए परनिर्भरता हट्ने, बिजुली उत्पादनको समेत सम्भावना

प्रोत्साहनमा भने सरकारी उदासीनता
माघ १९, २०८१ |उपेन्द्र ठाकुर
नेपालका चिनी मिलले क्षमता अनुसार उखु क्रसिङ गर्न पाए परनिर्भरता हट्ने, बिजुली उत्पादनको समेत सम्भावना

पर्सा । नेपालमा भएका चिनी कारखानाहरूले आफ्नो क्षमता अनुसारको उखु क्रसिङ गर्न पाउने हो भने चिनीको परनिर्भरतालाई कम गर्दै तिनले कम्तीमा ६ महिना कारखाना भएको जिल्लाको विद्युत्‌को मागलाई पनि पूरा गर्न सक्छन् । तर हरेक वर्ष मूल्यको झमेलामा किसानलाई अल्झाउने गरेको सरकारले उखुको उत्पादन बढाउने र कारखानालाई विश्वस्त पार्ने योजनामा ध्यान दिन सकेको छैन ।

गत वर्षको उखुको सिजनमा वार्षिक २३ लाख क्विन्टल उखु क्रसिङ गरेको बाराको रिलायन्स सुगर मिलले यस आर्थिक वर्षमा ३० लाख क्विन्टल उखु क्रसिङको लक्ष्य लिएको छ । कारखाना सञ्चालन अवधिभर यो कारखानाले आफूलाई आवश्यक बिजुली आफैं उत्पादन गर्छ । उखु क्रसिङ गर्दा उखुबाट निस्केको जुसबाट चिनी, मोलासिस र पेस्ट मड उत्पादन गर्ने कारखानाले उखुको बगासबाट स्टिम बनाई विद्युत्‌ उत्पादन गर्छ ।

प्रतिदिन ३० हजार क्विन्टल उखु क्रसिङ गर्ने यो कारखानाले प्रतिघण्टा झन्डै ४ मेगावाट बिजुली उत्पादन गर्ने गरेको छ । क्रसिङ अवधिमा उखुबाट निस्केको बगासको ४० देखि ५० प्रतिशत मात्र स्टिमका लागि प्रयोग गरेर विद्युत्‌ उत्पादन गर्ने गरेको यो कारखानाको बाँकी ५० देखि ६० प्रतिशत बगास यत्तिकै खेर जाने गरेको छ । खेर जाने गरेको बगासबाट थप विद्युत् उत्पादन गरी जिल्लाभित्र आपूर्ति गर्ने योजना अनुरूप कारखानाले नेपाल विद्युत्‌ प्राधिकरणसँग सहमति पनि लिइसकेको छ । तर भविष्यमा उखुको उपलब्धतामाथि विश्वस्त हुन नसक्दा कारखानाले थप विद्युत्‌ उत्पादन गर्ने हिम्मत जुटाउन सकेको छैन ।

कारखानाले अहिले २१ केजीको प्रेसरबाट १३ किलो स्टिम खर्चेर एक किलोवाट बिजुली उत्पादन गर्छ । कारखानाले २१ केजीको ठाउँमा ४५ केजी प्रेसरबाट विद्युत्‌ उत्पादन गर्ने हो भने एक किलोवाट बिजुली उत्पादन गर्न ९ किलो स्टिम मात्र खर्चिनुपर्छ । भएकै प्रविधिले कारखाना सञ्चालन अवधिभरि पनि प्रतिघण्टा झण्डै ८ मेगावाट बिजुली उत्पादन गर्नसक्ने यो कारखानाले प्रेसर बढाएर दोब्बर बिजुली उत्पादन गरी बारा जिल्लाभरिको बिजुलीको माग पूरा गर्न सक्छ । तर त्यसका लागि काखानाले थप लगानी गर्नुपर्ने हुन्छ ।

नेपालमा हाल १३ वटा चिनी कारखानाहरू सञ्चालनमा छन् । चिनी उत्पादन गर्ने ती सबै कारखाना बिजुली उत्पादन गर्ने क्षमता राख्छन् । उखुबाट चिनी मात्रै नभएर बिजुली पनि उत्पादन गर्ने पर्याप्त सम्भावनाका बीच सरकारले उखुको उत्पादन बढाउने योजनामा खासै ध्यान दिएको देखिँदैन ।

“हामी चिनी बनाउनका लागि बिजुली उत्पादन गर्दैछौं । यो प्रविधिबाट हामी आवश्यक बिजुली उत्पादन गर्न सक्छौं । तर अब फेरि क्षमताको कुरा छ, हामीले आफ्नो दक्षता बढाएमा यति उखुबाट अहिलेभन्दा दोब्बर उत्पादन गर्न सक्छौं”, रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज, बाराका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले भन्नुभयो ।

उखु किसानको उत्पादन बढाउने योजनासँगै उखुको उपलब्धता बढाउने हो र चिनी कारखानाका सञ्चालकलाई थप लगानी गर्ने वातावरण दिने हो भने विद्युत् उत्पादन बढाउने सम्भावनालाई नकार्न सकिँदैन ।

- बारा सहकर्मी रमेश ठाकुर र पर्सा सहकर्मी पंकज श्रेष्ठको सहयोगमा


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement