राष्ट्र बैंकले भन्यो- बैंकहरुको डुब्ने स्थिति छैन, ढुक्क भएर कारोबार गर्नुस्

बैंक तथा वित्तीय संस्थाविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै राष्ट्र बैंकको आपत्ति
फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्र बैंकले भन्यो- बैंकहरुको डुब्ने स्थिति छैन, ढुक्क भएर कारोबार गर्नुस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध केही व्यक्तिले भ्रामक प्रचार गरेपछि नेपाल राष्ट्र बैंकले निक्षेप नै फिर्ता गर्न नसक्ने गरी कुनै पनि बैंकमा समस्या नरहेको स्पष्ट पारेको छ । राष्ट्र बैंकले केही व्यक्ति तथा समूहका भ्रामक अभिव्यक्ति र दुस्प्रचारको पछि नलाग्नेसमेत आग्रह गरेको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको पुँजीकोष, कर्जा निक्षेप अनुपात र तरलताका परिसूचक सकारात्मक छन् । बैंकहरुबाट कर्जाबापत जाने रकमभन्दा निक्षेप बढेको छ । पर्याप्त तरलता रहेकाले बचतकर्ताको रकम सहजै सबै बैंकबाट फिर्ता हुन सक्ने अवस्था रहेको राष्ट्र बैंकको दाबी छ ।

बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको निक्षेप छ । ५० खर्ब ८५ अर्ब मात्रै कर्जाका रुपमा गएको छ । जसले गर्दा अहिले बैंकहरुको कर्जा निक्षप अनुपात ८०.१३ छ । जबकि बैंकहरुले ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । यति बलियो अवस्था हुँदाहुँदै बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनील केसी पनि बैंकसँग यथेष्ट मात्रामा रकम रहेकाले भ्रामक प्रचारको पछि नलाग्न सुझाव दिन्छन् ।

आमनागरिकमा बैंकहरु पनि सहकारीजस्तै डुब्ने हुन् कि भन्ने भ्रम परेको छ । तर राष्ट्र बैंकले बैंकहरु आफ्नो कडा नियमन र सुपरिवेक्षणमा रहेकाले चिन्ता नलिन सर्वसाधारणलाई आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.