चितवन । चितवनका दुग्ध किसानहरुले दूध बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरुद्धको आन्दोलन स्वरुप आज सडकमै दूध पोखेर विरोध जनाएका छन् ।
भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरु भेला भएर दुई क्यान दूध सडकमै पोखेर विरोध जनाएका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । विरोध स्वरुप सांकेतिक रुपमा सडकमै दूध पोखेर विरोध जनाइएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।
उनले दूध बिक्री तथा भुक्तानीमा देखिएको बेथितिविरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आइरहेको छ । त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध काठमाडौंलगायत जिल्लामा बिक्री हुँदै आइरहेको संघले जनाएको छ ।
बाँकी दूध चितवनमै खपत हुँदै आइरहेको छ । बाहिरी जिल्लामा बिक्री भएका दूधको रकम अझै किसानले भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष बगालेले बताए । उनका अनुसार चितवनका ४० हजार किसानले २२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
संघमा चितवनका ११४ दुग्ध सहकारी संस्था आबद्ध छन् । पछिल्लो २० दिनयता चितवनबाट बाहिरिने दूध उठाउने काम ठप्प भएको छ । निजी कम्पनीहरुले गत साउनदेखि नै दूध उठाउन छाडे पनि डीडीसीले दूध उठाउँदै आएकामा पछिल्लो समय डीडीसीले पनि दूध उठाउन छाडेपछि किसान झनै समस्या परेका हुन् ।