काठमाडौं । नेपालमा व्यापार, पर्यटन र लगानी बढाउने उद्देश्यसहित नेपाल महावाणिज्य दूतावास न्युयोर्कले गोलमेच सम्मेलन गरेको छ ।
ब्रुकलीन चेम्बर अफ कमर्ससँगको सहकार्यमा महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा ५० भन्दा बढी अमेरिकी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
‘नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू’ विषयक गोलमेच छलफलमा अमेरिकी व्यवसायीहरूले नेपालमा हुन लागेको तेस्रो लगानी शिखर सम्मेलनका बारेमा चासो राखेका थिए । उनीहरूले नेपालमा लगानीको सम्भावना, पर्यटकीय गन्तव्य र त्यसका चुनौतीका बारेमा समेत चासो व्यक्त गरे ।
कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले व्यवसायीहरूलाई नेपाल भ्रमण गर्न र लगानी बढाउन आग्रह गरे । उनले लगानी विस्तारका लागि सहजीकरण गर्न नेपाली महावाणिज्य दूतावास सधैँ तयार रहेको पनि जानकारी दिए ।
ब्रुकलिन चेम्बर अफ कमर्ससँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका मुख्य वक्ता संयुक्त राष्ट्रसंघ स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले नेपालमा राजनीति स्थायित्वसँगै लगानीको राम्रो वातावरण बनेको भन्दै अमेरिकी लगानीकर्ताहरूका लागि लगानी गर्न उत्कृष्ट समय रहेको बताए ।
यस्तै कार्यक्रममा अमेरिकी विदेश विभागकी प्रतिनिधि ओलिभिया स्नाजाले नेपालप्रति अमेरिकी चासो अझै बढिरहेको भन्दै नेपालको विकासमा अमेरिकी सहयोग जारी रहने बताइन् ।