सीताको कथा, श्रमिकका व्यथा

माघ २५, २०८० |अञ्जना लामिछाने
सीताको कथा, श्रमिकका व्यथा

काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा एउटा श्रमिकले कति हन्डर र ठक्कर खान्छ ? राज्यका संयन्त्रहरु निकम्मा बन्दा श्रमिक कसरी ठगिन्छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इम्प्लइमेन्ट एन्ड माइग्रेसन समिटमा श्रमिक कसरी ठगिन पुग्छन् भनेर पाँचथरकी सीता लावतीले बताएकी छन् ।

पाँचथर फिदिमकी सीता लावती रोजगारीका लागि भौतारिँदै काठमाडौ आएर विदेश जाने मनस्थिति बनाइन् र म्यानपावर खोजिन् । बल्लबल्ल रेस्नल ओभरसिज भन्ने कम्पनी फेला पारिन् । कतार जाने योजना बनाएकी सीतासँग कम्पनीले क्यूबीसी गर्न भन्दै सुरुमा ५० हजार र भिसाका लागि भन्दै तीन लाख ५० हजार मात्रै मागेन । उसले त बैकिङ प्रणालीबाट नभइ रेकर्ड रहने डरले नगद कारोबार मात्र गर्न भन्यो ।

सीताले पैसा तिरिन् र कतार गइन् । दुई वर्षका लागि वेटरको कामका लागि भन्दै कतार गएकी सीताले न काम पाइन्, न त खान बस्नै पाइन् । हायलकायल भएकी उनीसँग नेपाल फर्किनुको विकल्प रहेन ।

नेपाल फर्किएपछि म्यानपावर कम्पनीसँग उनले पैसा फिर्ता मागिन् तर पाइनन् । वैदेशिक रोजगार विभागमा दिएको उजुरीको सुनुवाइ हुनु त कता हो कता, उल्टै उनीविरुद्ध म्यानपावर कम्पनीले भए नभएको आरोपमा पुलिस केस गरिदियो ।

कान्तिपुर इम्प्लोमेन्ट एन्ड माइग्रेसन समिटको एउटै सेसनमा भाग लिएका श्रम सचिव केवलप्रसाद भण्डारीले २४ घण्टाभित्र उनले गुमाएको पैसा फिर्ता गराउने प्रतिबद्धता जनाए ।

सीताजस्ता स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने र यस्ता समस्या भोग्ने कैयौं छन् । तर उनीहरुको समस्या राज्यले सुन्ने कहिले, समाधान हुने कहिले ?

सीता लावतीजस्तै दैनिक २० युवा वैदेशिक रोजगारीका सिलसिलामा ठगिने गरेका छन् । पछिल्लो ६ महिनामा मात्रै ३४ सय ९५ उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । १३ करोड ८४ लाखभन्दा धेरै क्षतिपूर्तिको रकम माग भएको छ ।

पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गरेर युवा ठग्ने क्रम बढेको विभागले बताएको छ । सामाजिक सञ्जालबाट हुने ठगी नियन्त्रणका लागि राज्य संयन्त्रलाई समेत चुनौती थपिएको छ । वैदेशिक रोजगारीमा ठगीमा परे पनि उजुरी नै नगर्नेको संख्या अझै धेरै हुने गरेको आप्रवासनका जानकारहरुको भनाइ छ ।

६ महिनामा ३ लाख ३ हजारभन्दा धेरै श्रमिकले श्रम स्वीकृति लिएर विदेश गएका छन् । शून्य लागतको मागपत्रमा पनि पैसा असुल्ने, एक काम भनी अर्कोमा लगाउने क्रम रोकिएको छैन । श्रमिकलाई वैदेशिक रोजगारी पूर्वको जानकारी नदिँदा ठगिने क्रम नरोकिएको हो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।