अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टा-छुट्टै भेटवार्ता

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टा-छुट्टै भेटवार्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा विभिन्न दातृ निकाय र अमेरिकी उच्च अधिकारीहरूसँग छुट्टा-छुट्टै भेटवार्ता गर्नुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुग्नुभएका खनालले अमेरिकी वाणिज्य प्रतिनिधिसँगको भेटमा नेपाल-अमेरिका व्यापार र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल गर्नुभयो । सो अवसरमा उहाँले नेपाल ट्रेड प्रिफेन्स प्रोग्रामको म्याद थप गर्न अमेरिकी पक्षलाई आग्रह गर्नुभयो । त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँगको भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने र आपसी हितका विषयमा विचार-विमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधिसँग पनि छुट्टा-छुट्टै भेटवार्ता गर्नुभएको छ । ती भेटवार्तामा नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको थियो । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युत क्षेत्रमा निरन्तर लगानी रहने जानकारी दिएका छन् ।

जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनस्र्थापना, नागढुंगा सुरूङ मार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे समेत कुराकानी भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया-प्रशान्त निर्देशक कृष्णा श्रीनिभासनसँग विस्तारित कर्जा कार्यक्रमको निरन्तरताबारे छलफल गर्नुभएको थियो ।

बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम राख्ने विषयमा समेत विचार आदान–प्रदान भएको पाण्डेले जानकारी दिनुभयो । भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.