व्यावसायिक सुन्तला खेतीले फेरिएको जीवनस्तर

पुस १४, २०८० |रुद्रमणि भुसाल
व्यावसायिक सुन्तला खेतीले फेरिएको जीवनस्तर

अर्घाखाँची । सुन्तला खेतीले अर्घाखाँचीको मालारानी, छत्रदेव र पाणिनी गाउँपालिकाका किसानको आम्दानी र जीवनस्तर नै फेरिएको छ । पाखोबारीमा लटरम्मै फलेको सुन्तला बेचेर यहाँका किसान परिवारले एकै सिजन २२ लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

पाणिनी गाउँपालिका पणेना, सिम्लेका ४६ घरपरिवारले बारीमा मकै रोप्न छाडेर व्यवसायिक रुपमा सुन्तला खेती गर्न थालेको ११ वर्ष भयो । थोरै लगानी र कम मेहनतमा सुन्तलाबाट राम्रो प्रतिफल आउन थालेपछि यहाँका किसानको आम्दानी र जीवनस्तरसमेत फेरिएको छ । लटरम्म फलेको पहेँलपुर सुन्तलाबाट एउटा घरपरिवारले एकै सिजनमा १ लाख ५० हजारदेखि २२लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

पणेनाका किसान दधिराम गौतमले भने, ‘हाम्रो यहाँ साविकको वडा नम्बर १ मा करिब ४६ घर छौं । सबैकोमा सुन्तला खेती हुन्छ। न्यूनतम १ लाख ५० हजारदेखि २२ लाख, २५ लाख सम्मको सुन्तला उत्पादन गर्ने ठूला किसानहरु पनि यहाँ हुनुहुन्छ।’

अर्घाखाँचीको पणेना, पटौटी, खिदिम, छत्रदेवको अर्घातोष र भगवतीका किसानले सुन्तला खेतीलाई नै आम्दानीको मूख्य स्रोत बनाएका छन् । मालारानीको मरेङ, हंसपुर, खनदहलगायतका गाउँमा किसानको कमाइको प्रमुख स्रोत पनि सुन्तला खेती नै हो । यहाँका युवाहरु विदेशबाट फर्किएर बगैचा बिस्तार र सुन्तला खेतीमा लागेपछि प्रधानमन्त्री कृषि परियोजना अर्घाखाँचीले फिल्डमै पुगेर तालिम, सिंचाइ र प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीका प्रमुख विष्णुबहादुर मग्रातीले भने, ‘उहाँहरूलाई हामीले चाहिँ स्थलगत घुम्ती तालिम समेत प्रदान गरेका थियौं । जसबाट चाहिँ यहाँका किसानहरु प्रत्यक्ष रुपमा सैद्धान्तिक तथा व्यावहारिक रुपमा लाभान्वित भएको हामीले बुझेका छौं।’

अर्घाखाँचीमा व्यवसायिक रुपमा सुन्तला खेती गर्ने कृषकको संख्या एक हजार छ । १२ सय हेक्टरमा सुन्तला खेती गरिएको छ । यसवर्ष जिल्लाभर करिब २५ करोड रुपैयाँको सुन्तला उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीको छ ।

कृषिज्ञान केन्द्र अर्घाखाँचीका वरिष्ठ कृषि विकास अधिकृत बुद्धिराज घिमिरेले भने, ‘यस वर्षको तथ्याङ्क अनुसार हामीले ५ हजार ४० मेट्रिक टन सुन्तला उत्पादन हुने प्रक्षेपण गरेका छौं । तर विभिन्न किसानहरूको अनुभवलाई हेर्दा गत आर्थिक वर्षभन्दा यस वर्ष १० प्रतिशतले उत्पादन ह्रास हुने अनुमान छ ।’ अर्घाखाँचीको सुन्तला बुटवल, चितवन,काठमाडौं र छिमेकी मुलुक भारतमासमेत निर्यात हुँदै आएको छ ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement