काठमाडौं । सरकारले सहकारीमा जम्मा भएको रकमलाई कानुनविपरीत लगानी गरेका सञ्चालकलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने बताएको छ । भागेर विदेश पुगेका सञ्चालकलाई समेत खोजेर ल्याउने र पीडितलाई न्याय दिने पनि भनेको छ । तर सहकारीबाट पीडित बचतकर्ता भने सरकारको सुस्त कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।
पोखरा १३, मियाँपाटनका ६५ वर्षीय अली मोहम्मद अर्धचेत अवस्थामा ओछ्यानमा ढलेको एक वर्ष भयो । उनको दुवै मिर्गौला बिग्रिएका कारण सातामा तीनपटक डायलाइसिस गराउनुपर्छ । तर, उनले नै जम्मा गरेको पैसा सूर्यदर्शन बचत तथा ऋण सहकारीले हिनामिना गरेपछि उपचारमासमेत समस्या भएको छ ।
दुःख गरेर कमाएको पैसा सहकारीमा जम्मा गरेर हजारौं बचतकर्ता सहकारी सञ्चालकको बद्मासीका कारण पीडित छन् । केही सहकारी सञ्चालकले बचतकर्तालाई घर न घाटको बनाएका छन् । बचतकर्ताले सहकारीको गतिविधिमाथि चासो नदिँदा र सरकारले पनि समयमै ध्यान नपुर्याउँदा यो अवस्था आएको पूर्वसचिव गोपीनाथ मैनालीको भनाइ छ ।
बचत फिर्ता नपाएपछि बचतकर्ताले काठमाडौं केन्द्रित आन्दोलन नै गरे । सरकारले कार्यदल बनाएर छानिबन पनि गर्यो । केही पक्राउ परे पनि मोटो रकम कुम्ल्याउने कतिपय सञ्चालक भने अझै राज्यको सम्पर्कमा छैनन् । केही त भागेर विदेश नै पुगेको बताइन्छ ।
सहकारीको आवरणमा बद्मासी गर्नेमाथि निगरानी भइरहेको र भागेर विदेश नै पुगेको भए पनि नेपाल झिकाएर कानुनको दायरामा ल्याउने गृह मन्त्रालका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए ।
संघमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागले, प्रदेशमा सहकारी विभाग र महाशाखाले र स्थानीयतहमा पालिकाले सहकारी क्षेत्रसँग सम्बन्धित नियामक हुन् । तर यी निकायले प्रभावकारी नियमन नगरेकै कारण यो अवस्था आएको हो । यत्ति मात्रै होइन, सरकार आफैंले यसअघि बनाएका छानबिन समित, कार्यदल र आयोगको सुझाव कार्यान्वयन नगर्दा समस्या झाँगिएको हो ।