आयआर्जनका काममा जोडिँदै वीरगन्जका महिला

अरु महिलालाई सीप सिकाउँदै आम्दानीको बाटो खुल्यो
मंसिर २६, २०८० |माधुरी महतो
आयआर्जनका काममा जोडिँदै वीरगन्जका महिला

वीरगन्ज । वीरगन्जका महिलाहरू आयआर्जनका तालिम सिकेर आम्दानी गर्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने महिलाहरू पछिल्लो समय आय-आर्जनमूलक काममा जोडिएका हुन् । उनीहरु काम नलाग्ने सामनबाट पुन: प्रयोग गर्ने खालका सामग्री बनाएर आम्दानीसँगै आत्मनिर्भर बनेका छन् ।

पुराना कपडा, प्लास्टिकजस्ता सामग्रीबाट नयाँ झोला, पर्सलगायत सामग्री बनाउँदै उनीहरुले राम्रो आम्दानी गर्नुका साथै अन्य महिलाहरुलाई समेत स्वरोजगार बनाएका छन् । उनीहरुको उत्पादनको बजारमा राम्रो माग छ । रौतहटकी गीता पटेल आफूले तालिमबाट केही नयाँ सिक्ने र आम्दानीको बाटो हुने भनेर यहाँ आएको जनाइन् । ‘घरमा यत्तिकै बसिरहेकी थिएँ । केही नयाँ सिक्न पाइन्छ, आम्दानी र समयको पनि सदुपयोग हुन्छ भनेर आएकी हुँ,’ उनले भनिन् । यस्तै राधेमाई वीरगन्जकी पुनम चौरसियाले आफूहरुले बनाएका सामग्री बजारमा लगेर बेच्ने र केही आम्दानी गर्ने गरेको सुनाइन् । उनले भनिन्, ‘पहिले यतिकै घरमा बस्थें । अहिले काम सिकेपछि चामलको बोरा, कपडाबाट सामान बनाएर बजारमा बिक्री गर्छौं ।’

पर्साको नौतनकी राजमतीकुमारी साहका श्रीमानलाई परिवारको भरणपोषणका लागि विदेश कमाउन जानुपर्ने बाध्यता आयो । सीप सिक्दै आम्दानी गर्न थालेपछि राजमती आत्मनिर्भर भई २/४ जनालाई समेत रोजगारी दिने अवस्थामा पुगेकी छन् । उनी भन्छिन्, ‘पहिले घरमै बसिरहेकी थिएँ । कपडाको पसल खोलें तर त्यति चलेन । पछि सिलाइ सिकें, अहिले राम्रो चलेको छ ।’

पुरुषले मात्रै कमाइ गर्नुपर्छ भन्ने सोचको अन्त्य गर्दै अहिले वीरगन्जमा मात्रै करिब एक सयभन्दा बढी महिला यसमा जोडिएका छन् । अहिले उनीहरुले घरपसलमा गएर काम नलाग्ने पुराना कपडा, बोराजस्ता सामग्री संकलन र खरिद गर्ने गरेका छन् । अन्य महिलालाई सीप सिकाउँदै आम्दानीको बाटो पनि खुलेको ग्रिन एसिया लर्निङ सेन्टर वीरगन्जका प्रमुख सुनील साहको भनाइ छ ।

सीपमूलक तालिमसँग उपकरणका लागि सहयोगसमेत पाएपछि धेरै महिला अहिले उद्यमी बनेका छन् भने आफूजस्ता धेरैलाई जोड्न सफल भएका छन् । आवश्यक कच्चा सामग्री घरकै पुराना तथा काम नलाग्ने चिजबिजको प्रयोग गरेर जुटाउन सकिने भएकाले उनीहरुलाई काम सुरु गर्न पनि सहज भएको छ । बजारमा मागसमेत धेरै भएकाले महिलाहरु खुसी छन् ।


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।