भारतले धान निर्यातमा भन्सार शुल्क लगाएपछि नेपालका चामल उद्योग प्रभावित

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतले धान निर्यातमा भन्सार शुल्क लगाएपछि नेपालका चामल उद्योग प्रभावित

काठमाडौं । भारतले धान निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएपछि नेपालका चामल उद्योग प्रभावित भएका छन् । चामल मिल सञ्चालकहरुले भारतबाट शून्य भन्सार सुविधामा धान आयातका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपालमा उत्पादित धान पर्याप्त नहुँदा भारतबाट वार्षिक ६ लाख टन शून्य भन्सारमा आयात हुने गरेको थियो । तर यस वर्ष भारतले धान निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएपछि नेपाली व्यवसायीले सहज आपूर्ति गर्न सकेका छैनन् । त्यसमाथि नेपाल सरकारले कृषि सेवा बापत ५ प्रतिशत शुल्क लिने गरेको छ । कोटा सुविधा नहुँदा तीन महिनामै चामलको मूल्य १८ प्रतिशतले बढेको नेपाल चामल तेल दाल उद्योग संघका सदस्य विभोर अग्रवालले दाबी गरे ।

नेपालमा जिरा मसिनो धानको उत्पादन कम हुँदा भारतकै भर पर्नुपर्छ । तर भारतले आफ्नो खाद्य सुरक्षा कायम गर्न भन्दै निर्यातमा भन्सार महसुल बढाएको हो । भारतमा यो वर्ष धानको उत्पादन करिब ७ प्रतिशतले घट्ने प्रक्षेपण छ । नेपालमा वार्षिक ५६ लाख टन धान उत्पादन हुने गरे पनि करिब ११ लाख टन अपुग हुने गरेको कृषि मन्त्रालयको तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.