बिहीबार राति समातिएको १४ केजी सुनको छानबिन गर्न समिति गठन

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
बिहीबार राति समातिएको १४ केजी सुनको छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति बरामद गरिएको अन्दाजी १४ केजी सुनको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी गराएको छ ।

बिहीबार राति ११ बजेर ४० मिनेटमा फ्लाई दुबईको उडान नं. एफजेट पाँच-सात-तीनबाट आएका गोरखाका चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । विमान अवतरणसँगै अन्य यात्रु गइसकेपछि अन्तिमतिर झरेका घलेलाई लगत्तै भन्सारको टोलीले पक्राउ गरेको थियो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुखसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा घलेलाई नियन्त्रणमा लिई खानतलासी गर्दा अवैध रूपमा ल्याइएको बिस्कुट आकारका ७ थान अन्दाजी तौल १४ केजी सुन बरामद गरेको हो ।

उक्त अवैध कार्यमा संलग्न घलेसहित गोरखा जिल्लाकै मिनबहादुर घलेलाई पनि पक्राउ गरी भन्सार कार्यालयले अनुसन्धान कार्य अघि बढाएको छ । 

विमानस्थल भन्सार कार्यालयका अनुसार बरामद गरिएको उक्त सुनलाई परीक्षणका लागी भन्सार विभाग पठाइएको छ भने यस सम्बन्धमा थप छानबिनका गर्न छानबिन समिति गठन गरिएको हो । घले को हुन् र सुन कसको हो भन्नेबारे थप अनुसन्धानसहित कल डिटेल र सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको पनि विभागले जनाएको छ ।

छानबिन समितिमा स‌ंयोजक प्रमुख भन्सार अधिकृत पौडेलसहित प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोक राज ढुङ्गाना छन् ।

यसरी समातिएको थियो सुन, हेर्नुहोस् भिडियो :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement