पाँचथर । अधिकांश युवा शिक्षा र रोजगारीका लागि कि त सहर पसेका छन्, कि विदेश । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र छन् । जसले गर्दा पहाडी जिल्लाका गाउँ-बस्तीमा मेलापात गर्नसमेत धौ-धौ पर्न थालेको छ । आजकाल बाली लगाउन र भित्र्याउन पर्म गर्नुको विकल्प छैन ।
पाँचथरको फिदिम नगरपालिका ११ का लोकप्रसाद बुढाक्षेत्रीका खेतमा कुनै बेला धान रोप्न र बाली उठाउन दैनिक २५ जनासम्म खेताला हुन्थे । ठूलो समूहले काम गर्दा खेतका गरा भरिभराउ देखिन्थे । अनि पाकेको बाली चरामुसाले देख्न नपाईकन घर पुर्याइन्थ्यो । तर, पछिल्लो समय खेताला नपाउँदा उनलाई धान रोप्न र खलो उठाउन धौ-धौ पर्छ । तैपनि खेती-किसानीलाई निरन्तरता दिने थोरैमध्येमा एक हुन् उनी ।
युवापुस्ता अध्ययन र रोजगारीका लागि गाउँ छाड्ने क्रम बढ्दै गएपछि गाउँमा रहेको पुस्ताले जसोतसो कृषि कर्म धानिरहेको छ । विगतमा खेताला लगाएर आफ्नो काम सकिएपछि आरामले बस्ने उनीहरु अहिले त्यसो गर्न पाँउदैनन् । चाहेर नचाहेर पनि पर्म लगाउन र तिर्न छरछिमेकमा जानै पर्छ । पर्म नलाए खेतै बाँझिएला कि भन्ने पिरलो पनि उत्तिकै छ ।
‘पहिले साउनभरिमा ३५ जना रोपाहार र १६ जनाजति बाउसे लगाइयो । अहिले त त्यस्तो पाइँदैन,’ फिदिम ११ का लोकप्रसाद बुढाक्षेत्रीले भने । यस्तै फिदिमकी रीता अधिकारी पनि पुरुषहरु सबै विदेशिएका कारण पर्मको विकल्प नरहेको बताउँछिन् ।
प्रविधिले ठूलो फड्को मारेको भनिए पनि किसान परम्परागत रुपमै खेतीपाती गर्न बाध्य छन् । सरकारी अनुदानमा पहुँच छैन । प्रोत्साहन र अनुदान त परै जाओस्, रोग-किरा लाग्दा सामान्य प्रकृतिको उपचार पाउन पनि किसानलाई मुस्किल छ ।
पाँचथरका ८ वटै स्थानीय तहमा धान फल्छ । फिदिम, फाल्गुनन्द, मिक्लाजुङ र हिलिहाङका केही स्थानमा हिँउदे र बर्खे गरी दुवै सिजनको धान लगाइन्छ । जनशक्ति अभाव र परम्परागत प्रविधिमा आश्रित रहँदा बर्सेनि धान खेती घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी केशर मग्राती स्वीकार्छन् ।
भएको जनशक्ति रोजगारीका लागि विदेशिनु, उर्वर भूमि जनशक्तिकै अभावमा बाँझो हुँदै जानु, अनि कृषकका नाममा आउने अनुदान नक्कलीका पोल्टामा पर्नु र असली किसानलाई प्रविधि हस्तान्तरण नहुनुजस्ता कारणले उत्पादन घट्दै गएको छ ।
कृषि कर्मलाई प्रोत्साहन र बिदेसिइरहेको युवा पुस्तालाई रोक्न तीन तहकै सरकारले एकीकृत नीति ल्याउन आवश्यकता देखिएको छ ।