पाल्पा । सुन्तलाबारे प्रचार गर्न पाल्पाको रिब्दीकोट गाउँपालिका ७, पालुङमैनादीको मैनादीमा प्रथम सुन्तला महोत्सव गरिएको छ । रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व, वडा कार्यालयको आयोजना, मैनादी कृषि सहकारीको व्यवस्थापनमा सुन्तला महोत्सव गरिएको हो ।
महोत्सवमा सुन्तलाजन्य १० स्टल थिए । महोत्सव अवलोकन गर्न छिमेकी गाउँबाट समेत मानिस पुगेका थिए । महोत्सवमा सुन्तला प्रदर्शनी, सुन्तलाबाट बनेका जाम, जुस, जेलीलगायतको प्रदर्शनी गरिएको थियो । महोत्सवमा सुन्तला तथा फलफूल विकास केन्द्र तानसेनले प्रविधि प्रदर्शनीका साथै सुन्तलामा लाग्ने रोग-किराका विषयमा जानकारी गराएको थियो । कृषि ज्ञान केन्द्र तानसेनले निःशुल्क माटो परीक्षणका साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोनले बाली उपचार शिविर राखेको थियो ।
शनिबार भएको महोत्सवमा मैनादी मौरी स्रोत केन्द्रले मौरी र हेफर प्रोजेक्ट नेपालले बेसार खेतीसम्बन्धी जानकारी गराएको थियो । महोत्सवमा मैनादी गाउँमा ४४ वर्षअघि व्यावसायिक खेती गरेको भन्दै ९० वर्षीय लोकबहादुर कुँवरलाई सम्मानसमेत गरिएको थियो ।
मैनादीमा झन्डै दुई सय बढी घरधुरीले कृषि पेसाअन्तर्गत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जनाए ।
सुन्तलासम्बन्धी ज्ञान सीप तालिम वडा कार्यालयले प्राविधिकबाट गराउँदै आएको छ । सहकारीले वडा तथा गाउँपालिकाको सहयोगमा सुन्तलाको बेर्नामा ५० प्रतिशत अनुदान, सुन्तलाका लागि खाडल खन्न रकम उपलब्ध र रोग किरासम्बन्धी तालिम दिँदै आएको छ । उत्पादन गरेको सुन्तलामा प्रोत्साहन स्वरुप प्रतिकेजी २ प्रतिशत अनुदान रकम उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जानकारी दिए ।
यहाँबाट गत वर्ष सुन्तला मात्रै वार्षिक एक करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको थियो । यस वर्ष दुई करोड १० लाख रुपैया पर्ने अनुमान गरिएको छ ।