सडक मर्मतका लागि ४ महिनामै ६ अर्ब ४५ करोड रुपैयाँ माग

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
सडक मर्मतका लागि ४ महिनामै ६ अर्ब ४५ करोड रुपैयाँ माग

काठमाडौं । आर्थिक वर्ष सुरु भएको चार महिनामै देश भरबाट सडक मर्मतका लागि ६ अर्ब ४५ करोड रुपैयाँ माग भएको छ ।

पूर्वपश्चिम राजमार्गसहित देशभरका १८ हजार १ सय ६४ किलोमिटर राष्ट्रिय राजमार्गमध्ये १२ हजार ८ सय ३० किलोमिटर सडक नियमित मर्मत संहारका लागि यति धेरै रकम माग भएको सडक विभागले जनाएको हो । 

अधिकांश राष्ट्रिय राजमार्ग वा सहायक राजमार्ग बर्खा सकिएपछि हिँडी नसक्नु नै हुन्छन् । दसैँ तिहारपछि केही महिना मर्मत सम्भार गर्न भ्याइ–नभ्याई पनि छ । यी सडक सामान्यदेखि दोहोर्‍याएर र नियमित मर्मत गर्नु पर्ने स्थितिमा रहेको सरकारी अधिकारी बताउँछन् ।

पूर्वपश्चिम राजमार्गकै पनि कञ्चनपुर कमला, कमला-ढल्केवर-पथलैयालगायत ४ वटा खण्डमा सडक सुधारको काम चलिरहेको छ भने एकको टेन्डर परेको र २ टेन्डरको प्रक्रियामा छन् । पुष्पलाल मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, कर्णाली कोरिडोर निर्माणकै चरणमा छन् । 

आगामी आर्थिक वर्षमा सकिनुपर्ने मदन भण्डारी राजमार्गको ७ सय ४० किलोमिटर सडक मध्ये २ सय ८५ किलोमिटर मात्रै कालोपत्रे सकिएको छ । पृथ्वी राजमार्ग, चक्रपथ दोस्रो खण्ड, सूर्यविनायक धुलिखेल लगायत सडक विस्तारको गति पनि सुस्त छ । 

राष्ट्रिय राजमार्गबाहेक सहायक सडक र स्थानीय निकायसँग जोड्ने सडक अधिकांश क्षेत्रका सडक पनि मर्मत संहारको पर्खाइमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.