अर्थतन्त्र थप चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिँदै सरकार

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्र थप चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिँदै सरकार

काठमाडौं । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने भएको छ ।

अर्थतन्त्र थप चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले भोलि (मंगलबार) दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दै छौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ,’ अर्थमन्त्री महतले भने, ‘प्रधानमन्त्रीको निर्देशनअनुसार मैले वर्तमान देशको अर्थतन्त्रका बारे बैठकमा ब्रिफिङ गरें ।’ अर्थमन्त्रीको ब्रिफिङपछि गभर्नर महाप्रसाद खतिवडा र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेका थिए ।

‘समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रँदै गरेको छ, विप्रेषण, पर्यटक आगामन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौं,’ महतले भने, ‘कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो । जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पुँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ । लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौं ।’

रोजगारीका अवसर बढाउने विषयमा पनि छलफल भएको मन्त्री महतले बताए । विशेषतः सहकारी र लघुवित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो । लिएको ऋण तिर्नुपर्छ, तर त्यसलाई कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा छलफल भएको महतको भनाइ छ ।

‘बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषयमा छलफल भयो । जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,’ उनले भने ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.