भन्सार नाकामा प्लान्ट क्वारेन्टिन नहुँदा तरकारी र फलफूल आयात ठप्प

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
भन्सार नाकामा प्लान्ट क्वारेन्टिन नहुँदा तरकारी र फलफूल आयात ठप्प

धनगढी । प्लान्ट क्वारेन्टिन कार्यालय बन्द हुँदा कैलालीको त्रिनगर भन्सार नाकाबाट तीन महिनादेखि खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ ।

कर्मचारी अभाव देखाउँदै साउन २८ गतेदेखि क्वारेन्टिन कार्यालय बन्द गरेपछि यो नाकाबाट खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प भएको हो । नेपाल आयात हुने खाद्यान्न, तरकारी र फलफूलमा विषादी किराजन्य संक्रमण जाँच गर्ने कार्यालय बन्द हुँदा यो नाकाबाट आयात ठप्प भएको हो ।

सुदूरपश्चिमको प्रमुख नाकामा रहेको क्वारेन्टिन कार्यालय बन्द भएपछि व्यवसायीहरु नेपालगन्ज नाकाबाट दोब्बर ढुवानी भाडा खर्चेर सामान आयात गर्न बाध्य छन् । जसको प्रत्यक्ष मार उपभोक्तालाई परेको छ ।

सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टिनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा छ । उक्त नाकाबाट सामान आयात गर्न भारतले शारदा नदीको पुलमा बढी भार भएका मालवाहक साधन आउन प्रतिबन्ध लगाएको छ ।

त्यस क्षेत्रका व्यवसायीले यस विषयमा काठमाडौंमै पुगेर पटक-पटक सरकारको ध्यानाकर्षण गराए पनि अहिलेसम्म कार्यालय खुलेको छैन । प्लान्ट क्वारेन्टिन कार्यालयका अधिृकत प्रमोद ठगुन्ना मन्त्रिपरिषद्‌बाट निर्णय भएपछि मात्रै कार्यालय नियमित हुने बताउँछन् । ‘सम्भवतः अब बस्ने मन्त्रिपरिषद्‌बाट निर्णय होला,’ उनले भने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.