विदेश पढ्न र घुम्न जाने नेपालीमार्फत ३ महिनामै ४ खर्ब ९१ अर्ब बाहिरियो

मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
विदेश पढ्न र घुम्न जाने नेपालीमार्फत ३ महिनामै ४ खर्ब ९१ अर्ब बाहिरियो

काठमाडौं । वस्तु तथा सेवा आयातसँगै विदेश पढ्न र घुम्न जाँदा चालु आर्थिक वर्षको तीन महिनामै देशबाट चार खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । तर रेमिट्यान्स बढेकाले मुलुकको शोधनान्तर खाता ९९ अर्बले बचतमा छ ।

नेपाल राष्ट्र बैंकले तयार पारेको शोधनान्तर तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्म वस्तु आयातका लागि तीन खर्ब ९६ अर्ब बाहिरिएको छ । जुन गत वर्षको तुलनामा ९ अर्बले बढी हो ।

त्यस्तै विदेश पढ्न जानेबाट ३२ अर्ब ९२ करोड बाहिरिएको छ । यसरी विदेश पढ्न जानेहरुबाट बाहिरिने रकम गत वर्षको असोजसम्मको तुलनामा ७६ प्रतिशतले बढेको हो ।

यसैगरी घुम्न जाने बहानामा विदेश गएकाहरुबाट १९ अर्ब बाहिरिएको छ । सरकारले असोजसम्म विदेशी ऋण तथा ब्याजका लागि ८ अर्ब ६७ करोड भुक्तान गरेको छ भने सञ्चार तथा कमिसनका लागि १० अर्ब ६१ करोड बाहिरिएको छ ।

वस्तु आयातको यातायात खर्चबापत १९ अर्ब ५८ करोड खर्च भएको छ । निजी क्षेत्रले लिएको विदेशी ऋण तिर्न दुई अर्ब ५२ करोड र विदेशमा रहेका नेपालका कूटनीतिक नियोगका लागि ७५ करोड खर्च भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जनाए ।

मुलुकमा रकम भित्रिने मुख्य स्रोत रेमिट्यान्समार्फत ३ महिनामा ३ खर्ब ६५ अर्ब आएको छ । त्यस्तै विदेशबाट घुम्न आउनेबाट १७ अर्ब, विदेशी लगानी ३ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । यसैगरी सरकारले विदेशबाट ११ अर्ब ऋण प्राप्त गरेको छ । उत्पादन बढाउन नसक्दा वस्तु निर्यात मार्फत्तीन महिनामा ५ अर्ब २० करोड मात्रै आम्दानी भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.