सामूहिक फूल खेतीले कृषक लाभान्वित, गाउँपालिकाको ५० प्रतिशत अनुदान

कार्तिक २६, २०८० |प्रताप राना|रोशन लामिछाने
सामूहिक फूल खेतीले कृषक लाभान्वित, गाउँपालिकाको ५० प्रतिशत अनुदान

तनहुँ । तनहुँ र स्याङ्जाका किसान तिहारका लागि फूल टिप्न र माला बनाउन व्यस्त छन् । सबैलाई यतिखेर सयत्रपत्री फूल टिपेर माला गाँसेर बजारमा बिक्रीका लागि पठाउन हतारो छ ।

तनहुँको आँबुखैरैनी, म्याग्दे र शुक्लागण्डकीका किसान यतिबेला फूल टिप्न र माला बनाउन व्यस्त छन् । यहाँ उत्पादित फूल स्थानीय बजारमै खपत हुन्छ । सयपत्री फूलको माला गोटाको १६० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको छ ।

किसान आफैंले फूलको गुच्छा र माला तयार पारेर सेवाग्राहीसम्म पुर्याइरहेका छन् । व्यावसायिक रुपमा फूल खेती गरेका किसानले यो सिजनमा डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने म्यादेका किसान सुशान्त पौडेल बताउँछन् ।

‘गाउँकै फूललाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हामी किसानले यसबाट घरपरिवार पाल्न सहज भएको छ,’ शुक्लागण्डकी तनहुँकी किसान मञ्जुकमारी श्रेष्ठले भनिन् ।

२० हेक्टरमा फूल खेती हुने गरेको तनहुँमा तिहारमा मात्रै किसानले ५० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानलाई पनि यतिखेर फूल टिपरे माला गाँस्न भ्याइनभ्याइ छ । उनीहरु सामूहिक रुपमा फूल टिपेर माला गाँसी बिक्री गरिरहेका छन् ।

‘पुष्पखेतीका लागि कालीगण्डकी गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको छ,’ कालीगण्डकी गाउँपालिका ७ स्याङ्जाकी किसान कमला थापाले भनिन्, ‘साथै बजारीकरणका लागि पनि गाउँपालिकाले सहयोग गरिरहेको छ ।’

गाउँपालिकाले पछिल्लो ३ वर्षदेखि फूलखेती गर्ने किसानलाई अनुदान दिन थालेको छ । त्यसको लाभ महिला समूह, विद्यालय र पालिकाले समेत लिएका छन् ।

प्रतिरोपनी ९ हजार अनुदान दिएको पालिकाले अनुदान पाउन कम्तिमा दुई रोपनीमा फूल रोप्नुपर्ने नियम बनाएको छ । ‘कालीगण्डकी गाउँपालिकामा १६ कृषक समूहले फूल खेती गर्नुभएको छ,’ प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले भने, ‘त्यसमा सामुदायिक विद्यालयहरुले पनि फूल खेती गर्नुभएको छ ।’

किसानले उत्पादन गरेको फूल स्थानीयस्तरमा हुने सभा समारोहसँगै पोखरा, बुटवल र काठमाडौंमा समेत बिक्री हुन्छ ।

यहाँका १६ वटा समूहले जग्गा भाडामा लिएर ६० रोपनीमा सामूहिक रुपमा फूल खेती गर्दै आएका छन् । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणका लागि पनि पहल गरिदिने जनाएको छ ।

‘किसानहरुले मिलेर काम गर्नुभएको छ । अहिले ६० रोपनीमा पुष्प खेती भइरहेको छ,’ कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले भने ।

यो सिजनमा फूलबाट २५ लाखको कारोबार हुने गाउँपालिकाको अनुमान छ । किसानहरुले प्रतिकिलो २५० देखि ३ सय रुपैयाँसम्म खुला फूल बेचिरहेका छन् भने सानो माला ७० र ठूलो माला १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।

Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।