काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघहरूले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो । असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले ४ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नको लागि ज्ञापन पत्र दिने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल सरकारसँग विभिन्न समयमा भएका सहमति र प्रतिवद्धताको सम्मान गर्दै हाल भइरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरू २०८२ असार मसान्तसम्म स्थगित गरी रचानात्मक क्रियाकलाप गर्ने निर्णय गरेको बताउनु भयो ।
उहाँले महासंघले २०८२ असार मसान्त भित्र आफूहरूका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत् साँझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिनुभयो ।
महासंघले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय गरेको छ ।