पूर्वाधारलाई प्राथमिकता दिएर स्थानीय तहहरू बजेट सार्वजनिक गर्दै

असार १० गतेभित्र पालिकाले बजेट ल्याइसक्नुपर्ने
असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वाधारलाई प्राथमिकता दिएर स्थानीय तहहरू बजेट सार्वजनिक गर्दै

काठमाडौं । स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याउन थालेका छन् । बिहीबार पनि केही पालिकाले बजेट सार्वजनिक गरेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिकाले १ अर्ब १८ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरेको छ । नगर प्रमुख अशोक ब्यान्ज्यु श्रेष्ठले कुल विनियोजनमध्ये ६७.५५ प्रतिशत अर्थात् ८० करोड ४ लाख ११ हजार पुँजीगत खर्चतर्फ र ३१.१२ प्रतिशत अर्थात् ३६ करोड ८६ लाख ६९ हजार चालू खर्चतर्फ विनियोजन गरिएको उल्लेख गर्नुभयो । 

यस्तै, १.३३ प्रतिशत अर्थात् १ करोड ५७ लाख ७० हजार वित्तीय व्यवस्थातर्फ छुट्याइएको छ। आन्तरिक स्रोत व्यवस्थापनका लागि १३ करोड २२ लाख ५० हजार रूपैयाँको योगदान रहने अनुमान गरिएको छ।

धादिङको सिद्वलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पेस गर्नुभएको नीति कार्यक्रममाथि उपाध्यक्ष सविता अर्यालले ६० करोड ५७ लाख ८४ हजार ९ सय १४ रूपैयाँ बजेट अधिवेशनमा प्रस्तुत गर्नुभएको हो । 

बजेट सभाले सर्वसहमतिमा पास गरेको छ । गाउँपालिकाले आगमी बर्षको लागि सडक, शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा बजेट बिनियोजन गरिएको र नागरिकको चाहना अनुरूप नै बजेट बनेको उपाध्यक्ष अर्यालले बताउनु भयो । १३ स्थानीय तह रहेको धादिङमा आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट ल्याउने सिद्वलेक पहिलो स्थानीय तह बनेको छ ।

त्यसैगरी मोरङको जहदा गाउँपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि ६० करोड २७ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको छ । प्रशासनिक तथा सञ्चालन खर्चका लागि नौ करोड ३१ लाख ६४ हजार, कार्यक्रम तथा योजनामा २३ करोड ४९ लाख २६ हजार र सशर्त, समपुरक तथा विशेष अनुदान तर्फको योजना तथा कार्यक्रममा २७ करोड ४७ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । 

उपाध्यक्ष हन्ना सोरेनले ६० करोड २७ लाख ९० हजार रूपैयाँ स्रोतको अनुमान गर्नुभएको छ । आन्तरिक आय तर्फ आठ करोड १७ लाख ९६ हजार, संघीय सरकारबाट समानिकरण अनुदान १२ करोड १९ लाख, सशर्त अनुदान २४ करोड दुई लाख, समपुरक अनुदानबाट एक करोड ६५ लाख, राजश्व बाँडफाँडबाट १० करोड ४६ लाख ५७ हजार, प्रदेश सरकार समानिकरण अनुदानबाट एक करोड १५ लाख ८८ हजार प्रदेश सरकार राजश्व बाँडफाँडबाट ८१ लाख ४९ हजार रूपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.