सिन्धुपाल्चोक चौताराका नेवार समुदाय लोपोन्मुख 'चर्या नृत्य' को संरक्षणमा, युवालाई नाच प्रशिक्षण

असार ५, २०८२ |कमला पाख्रिन
सिन्धुपाल्चोक चौताराका नेवार समुदाय लोपोन्मुख 'चर्या नृत्य' को संरक्षणमा, युवालाई नाच प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौताराका नेवार समुदाय बुद्ध धर्मसँग सम्बन्धित प्राचीन र लोपोन्मुख 'चर्या नृत्य' को संरक्षण र प्रवर्द्धनमा जुटेका छन् । 

वज्रयान परम्पराका वज्राचार्य गुरुहरूले पूजा कोठाभित्र सीमित अभ्यास गर्दै आइरहेको चर्या नृत्य अहिले लोपोन्मुख अवस्थामा पुगेको भन्दै स्थानीय सम्पदा संरक्षण गुठीको अगुवाइमा पुनर्जीवन दिने प्रयास गरिएको हो ।

चर्या नृत्य बुद्ध धर्मको तान्त्रिक विधाको एक कला प्रस्तुति हो । जसमा पञ्चबुद्धका धानमुद्रा र ध्यानभावलाई आत्मसाथ गरिन्छ । सधैं टेलिभिजनमा मात्र देखिने यो नाचबारे सम्पदा संरक्षण गुठीले पहिलो पटक प्रशिक्षण दिएको हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस नृत्यलाई संरक्षण गर्न युवापुस्तालाई समेत प्रशिक्षणमार्फत जोड्न थालिएको छ ।

परम्परागत पोशाक, संगीत र नृत्यशैलीका साथ प्रस्तुत गरिने चर्या नृत्य बौद्ध धर्मको ध्यान साधनाको एक रूप मानिन्छ । पहिले वज्राचार्यमात्र नभएर राजोपाध्यायहरूले पनि यो नृत्य गर्थे तर पछिल्लो समय विरलै देखिन्छ । चर्या नृत्यको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पहिलो पटक पूर्वकुमारी चानिरा बज्राचार्य, हेमरत्न बज्राचार्य र विजय बज्राचार्यबाट प्रशिक्षण दिइएको हो ।

चर्या नृत्यमा बुद्ध र देवीदेवताका मुद्रालाई सांकेतिक शैलीमा प्रस्तुत गरिन्छ । सम्पदा संरक्षण गुठीले यसलाई सांस्कृतिक पर्व, पूजाआजा तथा सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्ने तयारीसमेत गरिरहेको छ ।

सम्पदा संरक्षण गुठी समिति र नेवार समुदायको सक्रियतामार्फत् लोप हुँदै गएका मौलिक नृत्य-परम्परा जोगाउन सकिने अपेक्षा गरिएको छ। यस्तो खालको सांस्कृतिक सम्पदा नष्ट हुन नदिन स्थानीय तह तथा सरोकारवाला निकायले समेत सहयोग गर्नु आवश्यक छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।