रामेछाप । रामेछाप जिल्लामा निरन्तर वर्षा भइरहेको छ। सदरमुकाम मन्थलीसहित जिल्लाभर वर्षा जारी रहँदा नदी किनारका वस्तीहरूमा बाढीको जोखिम बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, रामेछापले एक सूचना जारी गर्दै असार ७ गतेसम्म अझै भारी वर्षा हुने सम्भावना रहेको र त्यसले सुनकोशी नदीको बहाव बढ्नसक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।
प्रशासनले खासगरी सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका तामाकोशी र सुनकोशी किनारका वस्तीहरूलाई उच्च जोखिममा रहेको क्षेत्र मानेर सतर्कता अपनाउन आग्रह गरेको हो।
हाल जिल्ला भर वर्षा जारी रहेकाले सम्भावित बाढी तथा पहिरोको जोखिमसमेत बढेको छ। प्रशासन, सुरक्षाकर्मी र स्थानीय तहहरूलाई तयारी अवस्थामा राखिएको छ भने नागरिकहरूलाई सुरक्षालाई प्राथमिकता दिन भनिएको छ।