वीरगन्जका बजारमा तिहारको रौनक

कार्तिक २३, २०८० |माधुरी महतो
वीरगन्जका बजारमा तिहारको रौनक

वीरगन्ज । दीपावलीमा चाहिने माटाका भाँडाकुँडा, झिलिमिली बत्तीलगायतका विद्युतीय सामान तथा पूजाका लागि आवश्यक थरीथरीका सामग्री बिक्रीका लागि राखिएकाले वीरगञ्ज क्षेत्रका बजारको रौनक फर्किएको भान हुन्छ । आयातित विद्युतीय सामग्रीका माझमा माटाका दियो र भाँडाकुँडाको थुप्रो देख्दा सांस्कृतिक रीतिरिवाज सम्पन्न गर्न यस्ता वस्तुको महत्व अझै कम नभएको बुझ्‍न त सकिन्छ । तर परम्परागत रुपले यस्ता वस्तुको उत्पादनमा जोडिएको समुदायलाई भने पेशामा टिकिराख्न मुस्किल छ ।

सांस्कृतिक चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । तिहारलाई नेपाली मौलिक संस्कृति झल्काउने पर्वका रुपमा पनि लिने गरिन्छ । हिन्दू धर्मावलम्बी नेपालीले महत्वका साथ मनाउने तिहार, छठलगायतका पर्व नजिँकिदा वीरगञ्ज र आसपासको क्षेत्रका बजारमा रौनक छ ।

माटोको भाँडो पहिलेदेखि नै चलनचल्तीमा रहेकाले माटोको दियो प्रयोग गर्ने गरेको वीरगन्ज, गहवाकी रेखा श्रेष्ठले बताइन् ।

तराईका जिल्लामा चाडपर्वका बेला विभिन्न पूजा सामग्रीसँगै सबैभन्दा बढी खाद्यान्न तथा लत्ता कपडाको खरिद बिक्री हुने गरेको छ । आर्थिक मन्दीको मारमा परेका व्यापारी तिहारको आगमनले व्यापार बढ्ने आशामा उत्साहित रहेको प्रधुमन पण्डितले बताए ।

पर्साको अधिकांश ठाउँमा यतिखेर तिहारलक्षित माटाका भाँडा र दियो बनाइरहेको देखिन्छ । तर बजारमा बिजुलीका थरीथरीका झिलिमिली बत्ती पाइने हुनाले परम्परागत उत्पादनलाई टिक्न मुस्किल भइरहेको कमाले सुनिल प्रजापतीले गुनासो सुनाए ।

व्यवसाय सिथिल भएर निराश भएका व्यापारीलाई तिहार र छठको आगमनले खुशी त बनाएको छ । तर यस्तोमा सरकारले स्वदेशी उत्पादन र तिनको उत्पादनमा पुस्तौँपुस्तादेखि जोडिएका समुदायलाई प्रोत्साहन गर्ने नीति पनि ल्याउन आवश्यक छ । 


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।