ढकमक्क सयपत्री फुलाएका किसान आम्दानीले दंग

कार्तिक २३, २०८० |विनोद घिमिरे|मीनराज रोका
ढकमक्क सयपत्री फुलाएका किसान आम्दानीले दंग

धनकुटा । तिहार नजिकिँदै गर्दा धनकुटा र रोल्पाका गाउँघर सयपत्री फूलले ढकमक्क भएका छन् । अन्न, फलफूल र तरकारी खेती नहुने भिरालो र सेपिलो जमिनमा पनि मनग्गे फूल उत्पादन भएको छ । तिहारलक्षित फूल उत्पादनबाट किसानले राम्रो आम्दानी गरिरहेका छन् ।

धनकुटा कर्मिटाहारका गोविन्द श्रेष्ठ तिहारलाई भनेर रोपेको फूल स्याहार्न व्यस्त छन् । उनले तीन रोपनीमा उन्नत जातको सयपत्री फूलाएका छन् । ठोका बस्तीका सूर्य आठपहरियाको बारीमा पनि मनै लोभिने गरी सयपत्री फूलेको छ । धनकुटा नगरपालिका क्षेत्रमा तिहारमा बेच्ने लक्ष्य राखेर फूल खेती गर्ने किसान बढ्दै छन् । कर्मिटार, ठोका, पात्ले, सिप्तङ्ग, स्याउले, कागते र निगाले गाउँ सयपत्री र मखमली फूलले ढकमक्क छन् ।

‘तिहार आउन थालेपछि पहिलेदेखि हामीसँग सम्पर्कमा रहेका व्यापारीहरु आउनुहुन्छ । हामीसँग फूल छ भनेपछि उहाँहरु आउनुहुन्छ ।’ ठोका बस्तीका किसान सूर्य आठपहरियाले भने ।

यस्तै कर्मिटाहारका गोविन्द श्रेष्ठले फूल खेतीबाट राम्रै प्रतिफल पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने ‘जस्तो एक लाख रुपैयाँ लगानी गर्दा तीन लाख कमाइ हुन्छ । दुई लाख रुपैयाँ फाइदा हुन्छ ।’

धेरैले तिहारमा चाहिने फूल आफ्नै घर, करेसामा लगाउने हुँदा सबै फूल स्थानीय बजारमा खपत हुँदैन । त्यसैले धनकुटामा उत्पादित फूल धरान, इटहरी र विराटनगरलगायतका तराईका सहरमा पुर्‍याउनुपर्छ । भारतबाट आयात हुने फूलका कारण आफूहरुको उत्पादनले उचित मूल्य नपाउने किसानको गुनासो छ ।

उता लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाका महिलाले फूल खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । तरकारी खेती गरिरहेका महिला सामूहिकरूपमा फूल खेतीमा लागेका हुन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका २ खुंग्रीका महिला यतिखेर सयपत्री टिपेर माला उन्न व्यस्त छन् । २९ जनाको समूह गठन गरी तीन रोपनी जग्गा भाडामा लिएर खुंग्रीका महिलाले उत्पादन गरेको फूल प्रतिकिलो ५ सय र एउटा माला २ सयदेखि २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको सुनिलस्मृति गाउँपालिका -२ की सुभद्रा भारतीले बताइन् ।

दाङ र प्युठानबाटसमेत फूलको माग आएको छ । महिलाहरुले व्यावसायिक फूल खेती थालेसँगै गाउँपालिकाले प्लास्टिकका फूलका मालामा प्रतिबन्ध लगाएको गाउँपालिका अध्यक्ष मणीराम बुढाथोकीले जानकारी दिए ।

थोरै लगानीमा राम्रो आम्दानी हुनेभएपछि व्यावसायिक फूल खेती गर्न महिलाहरु सामूहिकरूपमा लागेका छन् । यसले उनीहरुको आयआर्जमासमेत टेवा पुर्‍याएको छ । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।

Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।