काठमाडौं । डेढ वर्षदेखि जारी रुस-युक्रेन युद्धले थलिएको विश्व अर्थतन्त्र इजरायल-प्यालेस्टाईन युद्धले थप प्रभावित हुने भएको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार इजरायलमा आकस्मिक रुपमा गरेको भीषण आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध जारी छ । आक्रमणको चौबीस घण्टा नबित्दै विश्व अर्थतन्त्रमा यसको असर देखिन थालेको हो । कच्चा तेल, प्राकृतिक ग्यास र सुनको मूल्य उकालो लागेको छ भने डलरको मूल्यसमेत बढ्ने देखिन्छ ।
दुई सातादेखि घट्दो क्रममा रहेको कच्चा तेलको मूल्य युद्धको भोलिपल्टदेखि नै बढ्न थालेको हो । सेप्टेम्बर २७ मा ९१ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य युद्धअघिसम्म ८२ डलरमा झरेको थियो । तर युद्धयता बढेर ८७ डलरमाथि पुगेको छ । विश्वबजारमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपालको अर्थतन्त्र झन् संकुचनतर्फ जाने विज्ञको भनाइ छ । उनीहरुका अनुसार युद्धको असर खाडी मुलुकको रोजगारी र रेमिटेन्ससम्मै पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका सहप्राध्यापक रघुवीर विष्टको भनाइ छ ।
.png)
वैदेशिक रोजगारीमा गएकामध्ये झन्डै ४५ प्रतिशत मध्यपूर्वी मुलुकमा छन् । युद्ध लम्बिए ती मुलुकबाट कामदारको उद्धार गर्नुपर्ने र रेमिटेन्स पनि गुम्ने अवस्था आउने विज्ञहरुको अनुमान छ ।
अहिले युद्धग्रस्त इजरायलमा केयरगिभर र कृषि क्षेत्रमा झन्डै पाँच हजार जनशक्ति कार्यरत रहेको सरकारी आँकडा छ । युद्धको असर पर्यटन क्षेत्रमा समेत पर्ने देखिन्छ । सन् २०२२ मा ६ हजार तीन सय इजरायली पर्यटक नेपाल घुम्न आएकामा यस वर्षको हालसम्म ५ हजार ९ सय जना आइसकेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि सन् २०२४ मा विश्वको आर्थिक वृद्धि अझै खुम्चने प्रक्षेपण गरेको छ । गत जुलाईमा विश्व आर्थिकवृद्धि ३ प्रतिशत रहने प्रक्षेपण गरेको आईएमएफले मंगलबार मात्र आर्थिक वृद्धि २.९ प्रतिशतमा सीमित रहने जनाएको हो ।
युद्धका कारण भारतमा पनि फलाम, स्टिल, मल तथा जैविक मल उत्पादन क्षेत्र प्रभावित हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
