काठमाडौं । सरकारले सीमा घटाएसँगै वैदेशिक लगानी स्वीकृति बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ५१ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृति भएको छ । गत आर्थिक वर्षका दुई महिनामा ५ अर्बको मात्रै लगानी स्वीकृति भएको थियो ।
वैदेशिक लगानीमा अपेक्षित सुधार हुन नसकेको भन्दै सरकारले गत आर्थिक वर्षको असोजमा वैदेशिक लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोडमा ल्याएको थियो । जसको प्रभाव भने यो वर्षको सुरुवातमै देखिएको छ । उद्योग विभागका अनुसार भदौसम्म १११ वटा उद्योगले वैदेशिक लगानी स्वीकृति लिएका छन् । गत वर्षको यही अवधिमा ५० वटा वैदेशिक लगानीका उद्योगले स्वीकृति लिएको उद्योग विभागका निर्देशक शंकरसिंह धामीको भनाइ छ ।
लगानी बोर्डले मात्रै पछिल्ला दुई महिनामा चारवटा जलविद्युत् आयोजनाका लागि ३६ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृति गरेको छ । जबकि गत वर्षका दुई महिनामा बोर्डले कुनै पनि वैदेशिक लगानी स्वीकृति गरेको थिएन । खुद वैदेशिक लगानी नै भने साउनमा दुई करोड रुपैयाँ मात्र आएको छ । यो वर्ष पर्यटन र सेवा क्षेत्रमा लगानी स्वीकृति बढेको उद्योग विभागले जनाएको छ ।