बजार पहिचान खोज्दै पाख्रीबास कालो बङ्‌गुर

आश्विन १२, २०८० |विनोद घिमिरे
बजार पहिचान खोज्दै पाख्रीबास कालो बङ्‌गुर

धनकुटा । धनकुटाको पाख्रीबास कृषि केन्द्रले अनुसन्धान गरी विकास गरेको पाख्रीबास कालो जातको बङ्गुर मासुका लागि उपभोक्ता माझ लोकप्रिय छ । तर यसको व्यावसायिक उत्पादन आशा गरे अनुसार बढेको छैन । यति मात्र होइन, ब्राण्डिङ र बजारीकरणमा गरिएको बेवास्ताले हिजोआज यसले आफ्नो बजार पहिचान नै गुमाउने अवस्था आएको छ ।

धनकुटाको पाख्रीबासमा रहेको कृषि अनुसन्धान केन्द्रले ४० वर्षअघि सेडलब्याक, फायुन र ट्यामवर्थ गरी तीन अलग जातको सम्मिश्रणबाट बङ्गुरको पाख्रीबास कालो जात तयार पारेको हो । कालो रङ्ग, मझौला खालको शारीरिक बनावट, रैथाने र स्थानीयको तुलनामा छिटो बढ्ने, धेरै पाठा जन्माउने, प्रतिकूल वातावरण र गाउँले व्यवस्थापनमा पनि सजिलै पाल्न सकिने, रोग तथा परजीवी प्रतिरोध क्षमता बढी हुने यो बङ्गुरको प्रमुख विशेषता हो ।

किसान र उपभोक्ताको रोजाइमा परे पनि आफ्नै ट्रेडमार्क र वास्तविक नामसहित बजारमा पुग्न सकेको छैन । पाख्रीबास कालोका नामबाट जातीय विकास भए पनि धनकुटाले यसको बजार पहिचान स्थापित गराउन सकेको छैन ।

पछिल्ला वर्षमा पाख्रीबास कालो जातको बङ्गुर धराने कालोका नामबाट बजारमा गइरहेको छ । व्यापारीहरूले भन्ने गरेको धराने कालो अहिलेसम्म कुनै बङ्गुरको जात सरकारी निकायमा दर्ता र सिफारिस नभएको राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रमका वैज्ञानिक बताउँछन् ।

जुनसुकै नाममा भए पनि पाख्रीबास कालो बङ्गुरको थप व्यवसायीकरण र बजार विस्तार हुनु राम्रो पक्ष हो । तर उत्पादनको जातीय विकास, वास्तविक नाम र विशेषताहरू ओझेल पर्न नदिन सम्बन्धित निकाय नै सचेत हुनुपर्ने देखिन्छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।