काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी कर्ताहरूलाई आकर्षित गरेमात्रै देशको अर्थतन्त्रले लय समात्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आायेजना गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजागरी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न जरूरी रहेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलकाअनुसार वर्तमान सरकार निजी क्षेत्रका कुरा सुन्न र निजी क्षेत्रका समस्या समाधान गम्भीर रहेको छ। उहाँले त्यसैले पनि वर्तमान सरकारले सरकार निर्माण भएसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरेको बताउनु भयो ।
उहाँले अध्यादेशमार्फत् विधेयक ल्याएर अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गरेको उल्लेख गर्नुभयो । अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानूनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरू कानून निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने उहाँकाे भनाइ छ ।
उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले दिएका सुझावहरूलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि बताउनु भयो ।