तेस्रो मुलुकबाट आएको मदिरा डेढ वर्षदेखि भन्सारमै थन्कियो (तस्बिरसहित)

आश्विन १०, २०८० |माधुरी महतो
तेस्रो मुलुकबाट आएको मदिरा डेढ वर्षदेखि भन्सारमै थन्कियो (तस्बिरसहित)

वीरगन्ज । तेस्रो मुलुकबाट आएको ठूलो परिमाणको तयारी मदिरा वीरगन्ज सुक्खा बन्दरगाहमा डेढ वर्षदेखि थन्किएको छ । शैलुङ इन्टरप्राइजेजले २०७८ चैतमा आयात गरेको १८ हजार ५४० बोत्तल रसियन भोड्का अहिलेसम्म जाँचपास नभई थन्किएको अवस्थामा छ ।

तर मदिरा आयातकर्ता भने हालसम्म भन्सारको सम्पर्कमा आएका छैनन् । यार्ड व्यवस्थापनको जिम्मेवारी पाएको प्रिस्टिन भ्यालीसँग बन्दरगाह परिसरमा रहेका कन्टेनरहरुको जानकारी लिएपछि डेढ वर्षदेखि भन्सार जाँचपास नगरी मदिरा राखेको पाइएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले जनाएका छन् ।

आयातकर्ताको अन्तःशुल्क इजाजतपत्रसमेत नवीकरण नभएको बताइएको छ । अन्तःशुल्क ऐनअनुसार अब फेरि इजाजातपत्र लिएर मात्र अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन बिक्री-वितरण वा निकासी गर्न पाइन्छ । तर त्यस्तो नगरिएको पाइएमा बिगो जफत गरी बिगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्थासमेत गरिएको छ ।

भन्सार स्रोतका अनुसार आयातकर्ताको ५१ लाख रुपैयाँ आयकर र एक लाख रुपैयाँ मूल्य अभिवृद्धि कर बक्यौता देखिएको छ । भन्सार ऐन २०६४ अनुसार भन्सारमा रहेका मालवस्तु धनीले तोकिएको अवधिभित्र छुटाउनुपर्ने हुन्छ ।

तोकिएको समयभित्र नछुटाएको अवस्थामा मालवस्तु छुटाइ लैजान कार्यालयले सात दिनको सार्वजनिक सूचना जरी गर्नुपर्नेछ । सूचना प्रकाशन गर्दा पनि भन्सार कार्यालयबाट छुटाइ नलगेको मालवस्तु सम्बन्धित भन्सार अधिकृतले जफत गर्ने व्यवस्था छ । तर जाँचपास गर्ने निकाय एउटा र यार्ड व्यवस्थापनको जिम्मा अर्को निकायले लिएपछि यस्तो समस्या आइरहेको हो कि भन्ने आकलन गरिँदै छ । 


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।