सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि दिइएको सुझाव कार्यान्वयनमा आशंका

भाद्र २७, २०८० |कान्तिपुर टीभी संवाददाता
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि दिइएको सुझाव कार्यान्वयनमा आशंका

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले हिजो बुझाएको रिपोर्ट कार्यान्वयन हुनेमा सरोकारवालाहरुले आशंका जनाएका छन् ।

बचतकर्ताहरु संचालकहरुको सम्पत्ति बेचबिखनबाट रकम फिर्ता हुनेमा बिश्वस्त छैनन् भने सहकारी सञ्चालकहरुले सहकारीमा लगाएको लगानीबाहेक अरु जायजेथा लिलाम गर्न नपाइने तर्क गरेका छन् । योजना आयोगका सदस्य जयकान्त राउत संयोजकत्वको कार्यदलले बचतकर्ताको रकम फिर्ता गर्न नसके सहकारीका सञ्चालकहरुको जायजेथा बिक्री गर्न सुझाव दिएको छ । तर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्याल भने आफ्नो लगानीबाहेक अन्य सम्पत्ति बिक्री गर्न कानुनले नै नमिल्ने दाबी गर्छन् ।

यसअघिका प्रतिवेदन कार्यान्वयन नभएकाले यो प्रतिवेदन पनि कार्यान्वयन आउनेमा सहकारी सञ्चालकहरुको आशंका छ । सहकारीमा रकम फसेका बचतकर्ताहरु भने कार्यदलले दिएको सुझाव कार्यान्वयन नै भए पनि रकम फिर्ता हुनेमा विश्वस्त नरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोत्तम कार्कीको भनाइ छ ।

२०७० मा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले १ सय ६२ वटा सहकारीमा समस्या रहेको औंल्याएको थियो । तर, उक्त सुझाव सरकारले कार्यान्वयन नगर्दा अहिले ५ सय सहकारीमा समस्या देखिएको छ । अब बचत फिर्ता गराउन यो प्रतिवेदन प्रहरीलाई जिम्मा लगाई कारबाही अघि बढाउनुपर्ने विज्ञको सुझाव छ ।

सहकारी क्षेत्रको अध्ययनका लागि यसअघि पनि ६ पटक अध्ययन भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.