पाल्पा । पाल्पाको अमरनारायण मन्दिरको गुठीको जग्गामा बसोबास तथा खेतीपाती गर्ने मोहीबाट मालपोत कार्यालयले राजस्व लिँदै आएको छ ।
चालु आर्थिक वर्षमा मालपोत कार्यालयले कुतवालीको नाममा दश गुणा बढी तिरो तिराएपछि अमरनारायण मन्दिर गुठीको जग्गामा १ सय ८० वर्षदेखि बसोबास गर्दै आएका झन्डै २ हजार परिवार समस्यामा परेका छन् ।
तानसेन नगरपालिका-७, काजीपौवा माझटोलका खेमबहादुर थापाले अघिल्लो आर्थिक वर्षसम्म मालपोत कार्यालय पाल्पामा ८ सय ४१ रुपैयाँ तिरो बुझाएका थिए । चालु आर्थिक वर्षमा भने कुतवाली भन्दै ७ हजार ७ सय ३ रुपैयाँ बुझाउनु पर्यो ।
अमरनारायण गुठीअन्तर्गतका झन्डै २ हजार परिवारले दश गुणासम्म बढी तिरो तिर्नुपरेको छ । उनीहरू तानसेन नगरपालिकाको वडा नम्बर २, ४, ६ र ७ मा अमरनारायण गुठीको जग्गामा बसोबास र खेतीपाती गर्दै आएका छन् । परिवारले महँगो तिरो तिर्नुपरेपछि समस्यामा परेका हुन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष १० गुणा बढी तिरो तिर्नु परेको अमरनारायण गुठी पीडित खेमकुमार थापाले बताए । ‘गत साल हामीले ८ सय ४१ रुपैयाँ तिरो तिरियो भने अहिले ७ हजार ७ सय ३ रुपैयाँ तिरियो’, उनले भने ।
वि.सं. १८६३ सालमा अमरसिंह थापाले स्थापना गरेको अमरनारायण मन्दिरको तानसेन र वर्तुङ साथै माडी फाँटमा गुठी जग्गा छ । माडी फाँटको १० हजार मुरी माटोमा खेती गर्नेले कुतवाली, र तानसेन र वर्तुङमा बसोबास र खेतीपाती गर्नेले मालपोत तिरो तिर्दै आएका हुन् ।
राज्यले जग्गाधनी स्विकार्दै न्यूनतम तिरो तिर्दै आएको भए पनि गुठी संस्थानले गत असारमा विरोधाभासयुक्त निर्णय गर्दै मालपोत तिरोबाट कुतवाली उठाउने निर्णय गरको छ । निर्णय फिर्ता गर्न पीडितले संघीय र प्रदेश सभा सांसदका साथै स्थानीय तहमार्फत् माग गर्दै आएका छन् ।
मालपोत तिरो तिर्दै आएका जग्गाधनीहरुले चालु आर्थिक वर्षमा अन्नबालीको हिसाबले कुतवाली बुझाउनुपर्ने भएपछि गुठीको जग्गामा बसोबास र खेती गर्दै आएकाहरुले मालपोत कार्यालयमा पनि गुनासो गरेका छन् ।
अमरनारायण गुठीको पाल्पा माडीफाँटको जग्गाबाट कुत बुझाउनुपर्ने र पाखो बारीको तिरो तिरे हुने १९०० सालको लालमोहरमा स्पष्ट लेखिएको छ । तानसेन नगरपालिका क्षेत्रमा अमरनारायण मन्दिरको गुठीअन्तर्गत १० हजार रोपनी जग्गा छ ।