काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर ७ प्रतिशतबाट घटाएर ६ दशमलव ५ प्रतिशत कायम गरेको छ ।
मौद्रिक नीति पारित गर्न आइतबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले मौद्रिक नीति पारित गरेसँगै आर्थिक वर्ष ८०/८१ को मौद्रिक नीति सार्वजनिक गरिएको हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । नीतिगत दर घटाइएपछि बैंकहरुले राष्ट्र बैंकमार्फत् लिने अल्पकालीन सापटीमा लागत काम पर्न जानेछ । यसले समग्र ब्याज घटाउन बैंकहरुलाई दबाब पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढाइने, ठूला कर्जामा अनुगमन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । हालको बैंकदर ७ दशमलव ५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५ दशमलव ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ।
यस्तै, निजी क्षेत्रमा जाने कर्जा ११ दशमलव ५ प्रतिशतले बढाइने र ठूला कर्जाको अनुगमन गरिने मौद्रिक नीतिमा उल्लेख छ । घरकर्जाको सीमा १ करोड ५० लाखबाट वृद्धि गरी २ करोड पुर्याइने र चालु पुँजी कर्जा मार्गदर्शनमा आवश्यक संशोधन गरिने मौद्रिक नीतिमा उल्लेख छ । सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले सञ्चालन लक्ष्यका रुपमा लिने भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने जनाएको छ । त्यस्तै विदेशी मुद्राकाे सञ्चिती ७ महिनाका लागि पर्याप्त रहेको पनि मौद्रिकमा उल्लेख छ ।
त्यसैगरी चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरिने र विदेश भ्रमणमा जाने नेपालीलाई वर्षमा २५ सय अमेरिकी डलर सटही सुविधा उपलब्ध गराइने पनि आजै सार्वजनिक भएको मौद्रिक नीतिमा उल्लेख छ । हाल १ हजार ५ सय अमेरिकी डलरसम्मको मुद्रा सटही सुविधा रहेकोमा अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका हुन् ।