किसानले तरकारीको उचित मूल्य पाएनन्, उपभोक्ता भने महँगीको मारमा

जेष्ठ २८, २०८० |किरण अधिकारी
किसानले तरकारीको उचित मूल्य पाएनन्, उपभोक्ता भने महँगीको मारमा

काठमाडौं । दुई साता अघि सरकारले ल्याएको बजेटमाथि संसद्‍मा सवाल-जवाफ आइतबारसम्म चल्यो । तर त्यही बजेटका आधारमा बजार भाउ ह्वात्तै बढेको छ। स्थानीय किसानले दिनहुँ नभई नहुने तरकारीको उचित मूल्य नपाउँदा सहरी क्षेत्रमा उपभोक्ताले चर्को रकम तिर्नुपरेको छ ।

बजेट आउनु अघि र पछिको कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूची हेर्दा सबैजसो तरकारीको खुद्रा भाउ १५ देखि २० प्रतिशतसम्म बढेको छ । आलु १३, प्याज १५, काउली ३० र बोडीको ४४ प्रतिशतसम्म भाउ बढेको छ ।

जेठ १५ गते सदनमा पेस भएको बजेटमा तरकारी आयातमा कर लगाउने घोषणा गरेपछि उपभोक्ताको भान्सा डेढ महिना अघि नै महँगिएको हो । साउन १ गतेबाट नयाँ बजेट कार्यान्वयन हुने भए पनि बजार भाउ पनि अहिले नै बढाइएको छ । 

त्यसो त स्थानीय स्तरमा उत्पादन हुने तरकारीले भने मूल्य नै पाएको छैन । काठमाडौंको बजारमा उपभोक्ताले ‍५० रुपैयाँ प्रतिकिलो तिर्नुपर्ने बन्दागोपीको मूल्य दाङका किसानले प्रतिकिलो एक रुपैयाँमा बेच्नुपरेको छ । अरू तरकारीको पनि उत्पादकले लागत मूल्य नै पाइरहेका छैनन् ।

बजेटलाई देखाएर अहिले कुनै सामानको भाउ बढ्नुपर्ने कारण छैन । किनभने बजेट कार्यान्वयन साउनमा हुने हो । तर मध्यस्थकर्ता तथा ठूला व्यापारीको मिलेमतोमा भाउ बढाइएको छ । 

नेपालका किसानको उत्पादनले मूल्य नपाउने र छिमेकी देश भारतबाट आउने तरकारी महँगोमा किन्नुपर्ने बाध्यता हुँदा पनि सरकारी निकाय भने उत्पादन वृद्धिको नारा लगाएर बसिरहेको छ । सरकारले न नियमित बजार अनुगमन गर्छ, नत उपभोक्ता ठग्ने बिचौलियालाई कारबाही नै ।


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।