भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालको बिजुली बजार सुनिश्चित

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालको बिजुली बजार सुनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएका समझदारी र सम्झौतासँगै पारवहन सन्धि नवीकरणले नेपाललाई समुन्द्रबाट भारतलगायत तेस्रो मुलुकसँग आयात-निर्यातको बाटो खोलेको छ । नेपालले पहिलोपटक कोलकाता बन्दरगाहबाट भारतको आन्तरिक जलमार्गमा पहुँच पाउने भएको हो ।

पारवहन सन्धिको नवीकरणपछि यसअघि भएका सम्झौता कार्यान्वयन गराउने सवालमा विशाखापटनमबाट विराटनगरसम्म सोझै मालबाहक रेल सञ्चालनले समुन्द्रमार्ग हुँदै नेपालले गर्ने आयात-निर्यातको खर्चसमेत घटाउनेछ । यसका साथै कोलकाता बन्दरगाहबाट जलमार्ग र त्यहाँका टर्मिनलको प्रयोग तथा नेपालले चाहेमा कोशीसम्म जलमार्ग विस्तारको समेत बाटो खुलेको जानकारको भनाइ छ ।

नेपालले पहुँच पाएका जलमार्गहरूमा कोलकाता-वाराणसी, कोलकाता-साहिबगन्ज र कोलकाता-कालुघाट छन् । सडकबाट ७४० किलोमिटरभन्दा लामो यात्रा गर्नुपर्ने बाध्यता यसअघि रहेकामा अब उक्त दूरी ११० किलोमिटरमा छोटिनेछ । यसले व्यापारको लागतमा सोझै प्रभाव पर्ने देखिन्छ । यसका साथै कोलकातादेखि साहिबगन्जसम्म ६,००० टनसम्मका ढुवानी गर्ने साधनलाई ल्याउन सकिन्छ भने आवश्यक परे कोशी ब्यारेजसम्म दुईहजार टनसम्मका साधन ल्याउन सकिने जनाइएको छ ।

भारतका आन्तरिक जलमार्गहरूमा पहुँचले भविष्यमा निकै फाइदा पुग्ने महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । सन्धि ७/७ वर्षमा नवीकरण गर्ने प्रावधान भए पनि २०७७ सालयता नवीकरण भएको थिएन । दुवै देशबीच १२ पटकभन्दा बढी भएका लेटर अफ एक्सचेन्जलाई सन्धिकै अंग मानिए पनि त्यसलाई औपचारिकता भने पुनरवलोकनसहितको नवीकरणबाटै हुने कानुनविद्‌को भनाइ छ ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत नै हो । नेपालले गर्ने कुल व्यापारको करिब ६३ प्रतिशत हिस्सा रहेको भारतसँग नै सबैभन्दा बढी व्यापार घाटा पनि छ । त्यसैले आयात र निर्यात गर्न पारवहनसन्धीले खोलेको बाटोको उपयोगिताले नै नेपालले प्राप्त गर्ने फाइदालाई निर्धारण गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.