प्युठानका धेरै गाउँमा अझै टुकीकै भर

जेष्ठ १२, २०८० |शमशेरविक्रम जीसी
प्युठानका धेरै गाउँमा अझै टुकीकै भर

प्युठान । जिल्लामै १२ मेगावाट विद्युत् उत्पादन हुने भए पनि प्युठानका केही ग्रामीण बस्तीमा अझै पनि बिजुली पुगेको छैन । केही गाउँमा लघुजलविद्युत् आयोजनाले उज्यालो दिए पनि केही गाउँघर अझै पनि टुकी र दियालोको भरमा छन् ।

प्युठानको गौमुखी गाउँपालिका २ की रविना रानाले गाउँमा बिजुली आउला भनी कुरेको वर्षौं बित्यो । आसपासका अर्खा, पिललरुख, ठूलोगाउँ लघुजलविद्युत्‌ले झमल्ल बनेको पनि दशकौं भइसक्यो । अहिले त ती गाउँमा केन्द्रीय प्रशारणकै बिजुली पुगिसकेको छ । तर अर्खाको सागबारीका बासिन्दा वारिपारिका गाउँमा बलेको उज्यालो हेर्दै आफू भने टुकीका भरमा घरको कामकाज गर्छन् ।

साँझमा घरको कामकाज गर्न गाह्रो हुने अर्खा, प्युठानकी रबिना रानाको अनुभव छ । ‘अझ बर्खामा त झनै गाह्रो हुन्छ,’ उनले भनिन् ।

१२ मेगावाटको झिमरुक जलविद्युत् आयोजनाले उत्पादन थालेको तीन दशक पुग्यो । गौमुखी क्षेत्रबाट आउने झिमरुक र नौबहिनीबाट आउने लुंग खोला झिमरुक जलविद्युत्‌को मुख्य स्रोत हो । तर विडम्बना गौमुखी र नौबहिनी क्षेत्रकै केही गाउँमा बिजुली पुगेको छैन । गौमुखी गाउँपालिकाको अर्खा, रजवारा र नौबहिनी गाउँपालिकाको स्याउलीबाङ तथा स्वर्गद्वारी नगरपालिकाको कोचिबाङलगायत गाउँमा अहिले पनि बिजुली छैन ।

अर्खाकी सरस्वती राना भन्छिन्, ‘दियालो, अगुल्टो बाल्छौं । भए लाइट पनि बाल्छौं ।’ स्थानीय बेलमान बिटालु पनि बिजुली नहुँदा आफूहरुलाई पढ्न गाह्रो हुने बताउँछन् । ‘स्कुलमा मात्रै पढ्छौं । घरमा आउँदा अँध्यारो हुन्छ,’ उनले भने ।

झिमरुक जलविद्युत आयोजनाअन्तर्गत केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार गर्न गौमुखी र नौबहिनी क्षेत्रमा चार करोड ६५ लाख रुपैयाँमा टेन्डर भएको थियो । २०७८ असार मसान्तमै काम सक्ने गर्नेगरी जयदुर्गे निर्माण सेवा र मासी कन्ट्रक्सनले ठेक्का लिए पनि अहिलेसम्म गाउँमा बिजुली पुगेको छैन । त्यहाँ पोल विस्तारबाहेक अरु कुनै काम भएको छैन । अहिले पनि गौमुखी र नौबहिनी गाउँपालिकाका २५ प्रतिशत नागरिक विद्युत्‌को पहुँचबाहिर छन् ।

‘दीर्घकालीन समाधानका लागि हामीले पहल गरिरहेका छौं,’ गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले भने, ‘तर पनि सुनुवाइ भएको छैन ।’ यसरी बिजुली बाल्न नपाउनु प्युठानी जनताका लागि विडम्बना भएको उनको भनाइ छ ।

‘नौबहिनी गाउँपालिकाको स्याउलीबाङ र खवाङ तथा गौमुखी गाउँपालिकाको अर्खा र रजवारा मात्र पूर्ण विद्युतीकरण हुन बाँकी रहेको क्षेत्र हो,’ नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले भने, ‘त्यहाँ पनि धेरैजसो ठाउँमा पोल राख्ने काम भइसकेको अवस्था छ ।’

वर्षौंदेखि अन्धकारमा बसेका ग्रामीण क्षेत्रका नागरिकले कहिले बिजुलीको उज्यालो देख्न पाउलान् । त्यसको जवाफ कसैसँग छैन ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement