१० वर्षदेखि राजस्व छली गर्ने २ उद्योगलाई ४ अर्ब कर निर्धारण

जेष्ठ १२, २०८० |महाप्रसाद खतिवडा
१० वर्षदेखि राजस्व छली गर्ने २ उद्योगलाई ४ अर्ब कर निर्धारण

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले न्यून आय विवरण देखाएर राजस्व छली गर्ने दुई उद्योगको झन्डै पौने चार अर्ब रुपैयाँ कर निर्धारण गरेको छ । ठूलो रकमको मुद्दामा चलखेल भई राजस्व असुली नहुने दृष्टान्त रहेकाले यी उद्योगको हकमा के हुन्छ भन्ने सबैको चासो छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले न्यून कारोबार देखाएर कर छली गर्ने दुईवटा कम्पनीबाट करिब पौने चार अर्ब रुपैयाँ कर निर्धारण गरेको छ । आन्तरिक राजस्व कार्यालयले अवनिश एग्रिगेट इन्डस्ट्रिजबाट २ अर्ब ३८ करोड र ओम साइबाबा क्रसर उद्योगबाट एक अर्ब ३४ करोड रूपैयाँ गरी तीन अर्ब ७२ करोड रुपैयाँ कर निर्धारण गरेको हो ।

२०६० सालदेखि सञ्चालनमा रहेका यी क्रसर उद्योगले न्यून कारोबार देखाएर राजस्व छल्दै आएका थिए । यी उद्योगको वास्तविक कारोबार र आन्तरिक राजस्व कार्यालयमा बुझाएको आय विवरणका आधारमा आन्तरिक राजस्व कार्यालयले कर निर्धारण गरेको हो ।

‘मुद्दामा, अपिलमा जानुभएको हुन्छ । त्यस्तोमा न्यायालय वा न्यायिक निकायबाट न्याय निरुपणबाट यकिन भएपछि उठाउने प्रक्रियामा जान्छ,’ आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डीबी क्षेत्रीले कान्तिपुर टेलिभिजनसँग भने, ‘जुन करदाताहरु मुद्दामा जानुभएको छैन त्यस्तालाई हामीले प्रचलित कानुनअनुसार सबै प्रक्रिया अवलम्बन गरेर असुल-उपर गर्ने गर्छौं ।’

आन्तरिक राजस्व कार्यालयले कर निर्धारण गरेको चित्त नबुझे आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष पुनरावेदन गर्ने र त्यसमा पनि चित्त नबुझे अदालत जानसक्ने कानुनी प्रावधान रहेको र ठूलो रकम भएको मुद्दामा बढी चलखेल भएर कर असुली नहुने दृष्टान्त भएको भन्दै विश्लेषकले राजस्व असुली हुनेमा आशंका गरेका छन् ।

‘मुद्दा गरिरहने, मुद्दा लम्बाइरहने तथा मुद्दाको प्रकृतिलाई कमजोर बनाएर भरसक राजस्व नतिर्ने खालका प्रवृत्ति नेपालका बिजनेस हाउसहरुको इतिहास देखिन्छ,’ अर्थविद् प्रा. डा. वेदराज आचार्यले भने, ‘यसमा त्यतिधेरै आशावादी हुनुपर्ने देखिँदैन ।’

न्यून आय देखाएर १० वर्षदेखि राजस्व छली गर्ने अवनिश एग्रिगेट इन्डस्ट्रिजका सञ्चालक अशोककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं हुन् भने ओम साइबाबा क्रसरका सञ्चालक मुरारका र प्रसाईंका अतिरिक्त अभिषेककुमार मुरारका छन् ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।